लकडाउनमा थप कडाइ गर्ने मन्‍त्रिपरिषद्को निर्णय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथामका लागि चैत ११ गतेदेखि लगाएको लकडाउनमा सरकारले थप कडाइ गर्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमासमेत कडाइ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यसैगरी सरकारले कोरोना देखिएका जिल्ला बागलुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेष्ट किट प्रयोग गरेर कोरोना परीक्षण गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता खतिवडाका अनुसार कोरोना संक्रमित देखिएका जिल्लामा तत्कालका लागि र्यापिड टेष्ट किटको परीक्षणबाट पिसिआर टेष्ट गर्ने निर्णय भएको हो ।

दुईजना कोरोना संक्रमित देखिए लगत्तै चैत ११ गतेदेखि १८ गते बिहानसम्म लकडाउनको निर्णय गरेको सरकारले संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको समय थपेर चैत २५ गतेसम्म पुर्याएको छ ।

मन्त्रिपरिषद्मा शनिबार नै लकडाउनको समय थप गर्ने प्रस्ताव पेश भए पनि त्यो भने निर्णय भएन । सरकारले यसअघि नै अन्तर्राष्ट्रिय उडानमा भने २०७७ वैशाख ३ गतेसम्म रोक लगाएको छ । नेपालमा एकजना बाहेक सबै कोरोना संक्रमित विदेशबाट आएका भएकाले सरकारले छिमेकी देशसँगका सीमा नाकामा समेत कडाइ गर्दै आएको छ ।

सँगै मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिममा सक्रिय रहने स्वास्थ्यकर्मीको सुरक्षा प्रबन्ध गर्ने निर्णय गरेको छ । सँगै मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिममा सक्रिय रहने स्वास्थ्यकर्मीको सुरक्षा प्रबन्ध गर्ने निर्णय गरेको छ ।

 

 


ताजा खबर