सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन शीर्ष नेताहरुबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेकाे शीर्ष नेताहरूको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको जानकारी दिनुभयो।

उहाँले संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्नुहुने बताउनुभयो। उहाँका अनुसार छानबिन समितिको कार्यादेश (टिओर) भोलि आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ ।

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सत्तारुढ गठबन्धन र काँग्रेसबीच सहमति « प्रशासन

“सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरुबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धिमूलक र सकारात्मक नै मान्नुपर्छ ’’ उहाँले भन्नुभयो ।

छानबिन समिति गठन गर्ने विषयमा आज चरणबद्ध रुपमा छलफल भएको थियो । सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरी लगायतसँग छलफल गर्नुभएको थियो ।

सभामुखसँगको छलफलपछि प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक लगायतसँग छलफल गर्नुभएको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित काँग्रेसले संसदमा अवरोध गर्दै आएको थियो । रासस


ताजा खबर