मेयर कप राष्ट्रिय महिला टी–२० : एपिएफ च्याम्पियन

विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हरायो । एपिएफले लिग चरणदेखि अपराजित रहँदै उपाधि चुमेको हो । सुदूरपश्मिमाथि रोमाञ्चक जितसँगै एपिएफले लगातार चौथो पटक यस उपाधि उचालेको हो ।

जितका लागि एपिएफले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५३ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि कविता जोशीले अविजित ६७ रन बनाए पनि टोलीको हार टरेन ।

यस्तै लक्ष्मी साउदले अविजित २९, कप्तान विन्दु रावलले १९, सावित्री धामीले १२ र सम्झाना खड्काले १० रन जोड्नुभयो । बलिङमा एपिएफकी करुणा भण्डारीले दुई तथा सुमन विष्टले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ७४ रन बनाउनुभयो । राजमति ऐरीले ५० र ममता चौधरीले अविजित १० रन जोड्नुभयो ।

बलिङमा सुदूरपश्चिमकी ऋतु कनोजिया, विन्दु रावल र राधिका पुजाराले एक एक विकेट लिनुभयो । प्रतियोगितामा एपिएफसँगै, बागमती, सुदूरपश्चिम, कोशी प्रदेश र आयोजक ललितपुर मेयर–११ गरी पाँच टोलीले भाग लिएका थिए । रासस


ताजा खबर