हिमाल आरोहणका लागि ८० देशका नागरिक नेपालमा

सगरमाथा आरोहण गर्न ६२ देशका आरोहीले लिए अनुमति

नेपालका ३० वटा हिमाल आरोहणका लागि जारी सिजनमा ९११ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ८० देशका नागरिक छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा हुने हिमाल आरोहणका लागि गत चैत १४ गतेदखि अनुमति दिन सुरु गरेयता ९११ ले अनुमति लिएका हुन् ।

उहाँले भन्नुभयो, “अहिले विभिन्न हिमालमा जारी आरोहणका लागि अनुमति दिने क्रम करिब–करिब सकिएको छ । मे २९ तारिखसम्म सगरमाथाको अन्तिम आरोहण हुने मिति नजिकिएसँगै अब अनुमतिको प्रक्रियामा आउने आरोही घटेका छन् ।”

आरोहणका लागि उपयुक्त सिजन मानिने वसन्तयाममा ३० वटा हिमालमध्ये सगरमाथा, ल्होत्से, अमादब्लम र मकालुमा सबैभन्दा बढी अनुमति लिएको उहाँले जानकारी दिनुभयो । यस पटक आरोहण अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथामा ४३ समूहका ३४३ पुरुष र ७८ महिला गरी ४१९, दोस्रोमा ल्होत्से आरोहणका लागि १४ समूहका १२३ पुरुष र २७ महिला गरी १५०, तेस्रोमा अमादब्लमका लागि १० समूहका ८० पुरुष र १९ महिला गरी ९९ र चौथोमा मकालु आरोहण गर्न सात समूहका ४३ पुरुष र २१ महिलासहित ६४ जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमतिबाट विभागले ६८ करोड ५० लाख ७९ हजार २८१ रुपियाँ राजस्व सङ्कलन गरेको उहाँको भनाइ छ ।

यस वर्ष सगरमाथा आरोहण गर्न ६२ देशका आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहण गर्न सबैभन्दा बढी अमेरिकाबाट ६१, चीनबाट ६७, बेलायतबाट ३५, भारतबाट २६, रसियाबाट २२ र जापानबाट २० जनाले अनुमति लिएका छन् । सगरमाथा आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयका अनुसार यतिबेला स्वदेशी तथा विदेशी आरोही, पर्यटक, पथप्रदर्शक, भरिया र भान्सेले आधार शिविरमा बाक्लो चहलपहल छ ।    रासस


ताजा खबर