चिनियाँ पर्यटक बढाउन चीनमा प्रवर्धनात्मक कार्यक्रम

ग्वाङझाउ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा पाटा नेपाल च्याप्टरसहित नौ वटा ट्राभल एजेन्सी र होटलले सहभागि छन् ।

नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या बढाउन चीनमा पर्यटक प्रवर्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल भित्रिने पर्यटकको दोस्रो ठुलो स्रोत बजारका रूपमा रहेको चीनमा कोरोना महामारीपछि पहिलो पटक पर्यटन प्रवर्धनको कार्यक्रम आयोजना गरिएको हो ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ मा चिनियाँ पर्यटकको सङ्ख्या बढे पनि पुरानै अवस्थामा फर्किन भने सकेको छैन । विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक भित्र्याउन ग्वाङझाउमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल प्रवर्धन गरिएको छ ।”

वार्षिक १५ करोड चिनियाँ नागरिक विश्व भ्रमणमा निस्कने गरेकाले त्यसको केही हिस्सा नेपाल ल्याउन सके यहाँको पर्यटन क्षेत्रमा महìवपूर्ण योगदान पुग्ने लक्ष्यसहित बोर्डले चीनमा प्रवर्धनका कार्यक्रममा जोड दिएको उहाँले बताउनुभयो ।

जेठ ३ देखि ५ सम्म आयोजना भएको ग्वाङझाउ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा पाटा नेपाल च्याप्टरसहित नौ वटा ट्राभल एजेन्सी र होटलले सहभागिता जनाएको उहाँले बताउनुभयो । त्यस्तै गरी लगत्तै छेन्दु र बेइजिङमा आयोजना हुने कार्यक्रममा करिब ५० हाराहारीमा नेपाली व्यवसायीले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।

यसअघि वैशाख २४ देखि २७ गतेसम्म दुवईमा आयोजित अरेबियन ट्राभल मार्केटमा सहभागिता जनाएको थियो । उक्त मेलामा विश्वभरका १६० भन्दा बढी देशबाट तीन हजारभन्दा बढी आगन्तुक सहभागी रहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्क अनुसार यो अप्रिलमा नौ हजार ७५० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । जुन भारत र अमेरिकापछि तेस्रो नम्बरमा रहेका छन् । सन् २०२३ को अप्रिलमा चार हजार ७७० चिनियाँ पर्यटक नेपाल आएका थिए । सन् २०२४ को जनवरीमा सात हजार २६७, फेब्रुअरीमा नौ हजार १८०, मार्चमा १२ हजार ९३ जना चिनियाँ नेपाल भित्रिएका थिए । सन् २०२३ मा नेपाल भित्रिने चिनियाँको सङ्ख्या ६० हजार ८७८ मात्र थियो । कोरोना महामारीअघि सन् २०१९ मा एक लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । जुन अहिलेसम्मकै सर्वाधिक हो । रासस


ताजा खबर