कोरोना माहामारी, ‘लक-डाउन’, हाम्रो चिन्ता र मानसिक स्वास्थ्य : प्रा.डा.पुष्प प्रसाद शर्मा

हामीहरु अहिले बिशेष परिस्थितिबाट गुज्रिरहेका छौं। यो (कोभिड-१९) कोरोना भाईरसको माहामारीका कारण अहिले बिश्व जनमानस आक्रान्त छ। यो बिश्वभर द्रुत गतिमा फैलिरहेको छ। भोलिको दिनमा हामीपनि कोरोना भाइरसको चपेटमा हाम्रो समाज र देश सँगै आउन सक्ने सम्भावना रहेको हुनाले अहिले नै हामी सतर्कता अपनाउँदै राष्ट्रले लगाएको बिशेष निषेधको अवस्था ‘लक-डाउन’ को बिशेष अवस्थामा छौं।

हामीले एकदमै बिचार गर्नुपर्ने छ की, यो लक डाउन भनेको भोलिको दिनमा हामीलाई यस भाईरसले हामीलाई, हाम्रो समाजलाई,  हाम्रो परिवारलाई संक्रमित गर्न नसकोस भन्ने हेतुले गरिएको हो ।

तर, लकडाउनको बेलामा र यस्तो किसिमको महामारीको बेलामा शारिरिक स्वास्थ्य त छँदैछ साथमा हाम्रो मानसिक स्वास्थ्यलाई पनि धेरै असर गर्न सक्छ। हामीले शारिरिक स्वास्थ्यको साथसाथै मानसिक स्वास्थ्यमा पनि बिशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

यस किसिमको महामारी फैलिरहेको बेलामा के हुन्छ त ? जब यस किसिमका महामारिमा सबैभन्दा पहिला त एक किसिमको एन्जाइटि (चिन्ता) उत्पन्न हुन्छ। थोरै यस किसिमको एन्जाइटि हुनुलाई मानसिक स्वास्थ्यको दृष्टिले त्यति खराब मानिदैन। थोरै एन्जाइटि सबैलाई हुन्छ यो सामान्य हो । बास्तबमा भन्ने हो भने यो एनजाइटिले नै हामिलाई निश्चित हदसम्म अनुशासित पनि बनाएको हुन्छ। एन्जाइटि नै भएन भने हामी बिन्दास भएर घुम्न जान सक्छौं, बाहिर हिँड्न सक्छौं । तर राज्यले वा समाजले हामिलाई बिशेष परिस्थिति र  निश्चित समय अबधिका लागि दिएका निर्देशन तथा नीतिनियम हामीले पालना नगर्न पनि सक्छौं । त्यसैले केहि एन्जाइटी भयोभने केही डर हुन्छ। यस्तो डरले हामीलाई सुरक्षित बनाउनका लागि दिइएका आदेशहरु कडा रुपमा पालन गर्न बाध्य बनाउँछ र हामी त्यसतर्फ लाग्छौं।

तर यो एन्जाइटिमा चैं यस्तो छ। जब हाम्रो एन्जाइटिको लेभल बढ्दै जान्छ र हामिले दैनिक रुपमा गरिरहेका कामकाज र कृयाकलाप समेत गर्न नसक्ने अवस्थामा समेत पुग्छौं, त्यस्तो बेलमा चैं हामीले एकदम बिचार पुर्याउनुपर्छ र त्यसलाई स्वीकार्य हुने अवस्थामा कसरी ल्याउने भन्ने बिषयमा खास ध्यान पुर्याउनुपर्छ।

आज कै अवस्थाको कुरा गर्दा पहिले त सहज रुपमा चिकित्सकलाई आएर भेट्न सक्ने समेत अवस्था छैन । यस्तो अवस्थामा आफैले आफुभित्रै आएका तनाबहरुलाई समन गर्ने र ब्यबस्थापन गर्ने बिभिन्न किसिमका उपायहरु अपनाउन सक्छौं।

यस्तो बेलामा हाम्रो मनमा बिभिन्न किसिमका प्रश्नहरु आउन सक्छन्।  कतै मलाई यो भाइरसको संक्रमण त हुने हैन ?  कतै मलाई यो भाइरस त सर्दैन?  भनेर अत्यन्त डराउने र डरले अत्यन्तै सताएर केहीपनि गर्नै नसक्ने लगभग अपाङ्गताकै अवस्थामा पुर्याउन सक्छ।

यस किसिमको डरलाई सहज बनाउन हामी के गर्न सक्छौंभने, यो भाइरसको संक्रमणबाट जोगिनका लागि हामीलाई चिकित्सकहरुले दिएको सुझाबहरुलाई म पूर्णतः र कडाइकासाथ पालना गर्छु । त्यो भयोभने मलाई संक्रमण हुने र रोग सर्ने संभावना कम हुन्छ।

यो एउटा बिचार जुन आयो, मलाई अब संक्रमण सर्न सक्छ भन्ने डर जुन आयो, त्यसलाई सहज बनाउने बिचार चैं के हो भने, मैले यदि आफ्नो सुरक्षाकालागि अपनाउनुपर्ने सावधानिहरु जुन थियो त्यो अपनाएपछि मलाइ संक्रमण सर्ने संभावना एकदम कम हुन्छ।

यो पनि हैन की, कुनै ठाँउमा यो संक्रमण भइसकेपछि त्यो संक्रमणले पुरै देशलाई गाँज्छ र देशका सत प्रतिशत जनसंख्यालाई संक्रमण हुन्छ भन्ने हैन। त्यसैले मैले अपनाएका पुर्वसावधानी अत्यन्त महत्वपुर्ण छ की ?  यो कुरा आत्मसात गर्नु अपरिहार्य छ।

त्यस बाहेक अरु नन फर्माकोलोजिकल स्ट्राटिजिजहरु पनि छन्। जसलाई अपनाएर पनि यस किसिमका एन्जाइटी अर्थात चिन्ताबाट राहत पाउन सकिन्छ। यस्ता रणनीतिहरुमा प्राणायम लगायतका ब्रिदिङ एक्सरसाइजहरु, प्रोग्रेसिभ मसल्स रिल्याक्सेसनहरु, माइण्डफुलनेस, त्यसैगरी योगा लगायतका कुराहरुबाट पनि चिन्तालाई कम गर्न सकिन्छ ।

यसका साथै मानिसहरुलाई अरु बिचारहरुपनि आँउछ । जस्तो की, म के गर्ने? काममा जान सक्दिन । भोली के हुने हो ? भन्ने चिन्ता पनि आउन सक्छ । तर यो धेरै अगाडि सोच्नु भन्दापनि , अहिले मेरोलागि सबैभन्दा मेरो परिवार, समाज, मेरो देश र समग्र मानवजातिकालागि मैले गर्नसक्ने भनेको संक्रमणबाट रोक्नलाई मेरो परिवार मेरो समाज र साथिभाइलाई समेतको सुरक्षाकालागि राज्यले निर्देश गरेका उपायहरु अपनाउन सचेत गराउछु । संक्रमण बाट आफु पनि जोगिन्छु र उनीहरुलाई पनि बचाउँछु ।

त्यस्तै अर्को कुरा चैं के छ भने, मानसिक स्वास्थ्य सम्बन्धि अरु कुराहरुमध्ये जुन हामी घरमा बस्छौं । लक डाउनका बेला हामी दिनभरी घरमा बस्छौं । जुनकुरा हामी धेरैको लागि बानीपनि हुँदैन होला । तर यस बेलामा यो एउटा घरमा बस्ने र परिवार सँग राम्रो समय बिताउने अवसरका रुपमा पनि हामीले लिनसक्छौं। मानिसहरुले कतिपय परिस्थितिमा एक्लै बस्नपनि सिक्नुपर्छ । यो एउटा यस्तो मोका हो जुनबेला मान्छेले केही समय आफु एक्लै बसेर आफुलाई आइसोलेट गरेर, फिजिकली आइसोलेट गरेर बस्न सिक्छ । यो मानिसहरुको एउटा अत्यन्त ठूलो क्षमता हो। सधैं मानिसहरुले घेरिएर बस्ने र अरुको आशा गरेर बस्नु पनि मानसिक स्वास्थ्यको हिसाबले त्यति राम्रो मानिँदैन। यो बेलामा चाँहि कतिपयले स्वावलम्बन सिक्न सक्छन र कठिन परिस्थितिलाई एक्लै कसरी सामना गर्ने भनेर अनुभव गर्न सक्छन्। कतिपयले आफ्नो परिवारसँग बसेर एउटा राम्रो समय बिताउन सक्छन् र दुख सुखका कुराहरु आदान प्रदान गर्न सक्छन्।

अर्को हिसाबले हेर्ने हो भने घरमा बालबालिकाहरु छन् भने उनीहरुसँग खेलेर पनि रमाउन सकिन्छ । उनीहरुलाई बिभिन्न कथाहरु सुनाउने चित्रकला लगायतका कुरामा साथमा काम गरेर पनि रमाइलो गर्न सकिन्छ । कसैलाई सृजनात्मक लेखनमा रुचि छ भने कथा कबिता लेख निवन्ध आदिमा राम्रो सँग समय सदुपयोग गर्न सकिन्छ। त्यसैगरी कसै कसैलाई आफ्नो आस्था अनुसारको धार्मिक तथा आध्यात्मिक गतिबिधिहरुमा समेत समय सदुपयोग गर्न सकिन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने, तनाबलाई ब्यवस्थापन गर्न हामी आफैँले सक्छौं। तनाब हाम्रो दृष्टिकोणमा भरपर्छ । यदि एउटा ब्यक्ति आफुमा सक्षम छैन अथवा उसमा तनाब झेल्न सक्छु भन्ने आत्मविस्वास छैन भने र आएका तनाबहरुलाई गलत किसिमले ब्यवस्थापन गर्न कोशिष गरिराखेको छ भने त्यसबाट त्यति राम्रो नतिजाको अपेक्षा गर्न सकिँदैन।

तर यदि स्वस्थ किसिमले तनाबलाई सामना गर्ने (हेल्दी कोअपिङ स्ट्राटिजिज) तरिका हरुलाई हामिले मनन गर्ने हो भने हामी तनावबाट सहज रुपमा बाहिर निस्कन सक्छौं र यसलाई हामी सदुपयोग गर्न सक्छौं।

कतिपय ब्यक्तिहरुलाई यहिबेला नियमित शारिरिक ब्यायाम गर्ने बानी लाग्न सक्छ। कतिपयले श्रृजनात्मक कुराहरु र नयाँ कुराहरु पनि आफुभित्रै पाउन सक्छन् । र यहि बेला हो जब मान्छेले आफुभित्र नियालेर हेर्ने गर्दछन् यो आफैमा एउटा राम्रो मौका पनि हुन्छ ।

यसरी सबैकुरालाई नकारात्क दृष्टिकोणबाट नहेरेर यो समयलाई राम्रोसँग सदुपयोग गरेर आफुलाई आफ्नो साथिभाईहरुलाई आफ्नो परिवारलाई आफ्नो समाजलाई आफ्नो देशलाई र समस्त मानबजातिलाई नै केही न केही सहयोग हुन सक्छ । यो महामारिको त्रास सहित लक डाउन भएको अत्यन्त संवेदनशील घडिमा हामी हरेक नेपाली जनको काँधमा आएको महत्वपूर्ण जिम्मेवारीलाई हामी सबैले राम्रोसँग पुरा गर्न सक्नुपर्छ।

भोली के होला भन्ने भन्दा पनि, भोलिको र बिगतको कुरामात्र गरेर त्यसमा मात्र नअल्झिएर बर्तमान परिवेश र परिस्थितिको कुरामा हामी आफ्नो ध्यान केन्द्रित गर्न सक्छौं। अहिले हामीले गरेको ब्यवहार र अहिले हामीले गरेको प्रयाशले नै हाम्रो भोलीलाई सुनिश्चित आकार प्रदान गर्छ

त्यसैले, भोली के होला भनेर मात्र बसेर हुँदैन। त्यसैले अहिले मानसिक रुपमा मनोस्वास्थ्यको दृष्टिकोणबाट हामी सबैलाई गाह्रो भएको अवस्था छ । तापनि यसलाई सहनसक्ने वनाउनलाई रेजिलियन्स पावर बढाउने किसिमका गतिबिधिहरु गर्योभने भोलिकादिनमा बिस्तारै हामीलाई सजिलो हुँदै जान्छ

हामिमा रेजिलिएन्सी भयो हामीमा कोपिङ स्ट्राटिजि भयो तनाबलाई ब्यवस्थापन गर्नलाई राम्रोसँग पहल गर्यौं र यसलाई हामी चिकित्सकिय भाषामा कग्नेटिभ रिस्ट्रक्चरिङ भन्छौं । तनाबलाई बुझ्ने खासगरि तनाबलाई यथास्थितिमा बुझ्ने र यथार्थपरक रुपमा हेर्ने मनस्थिति हामिले बनायौं भने यसले हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मकता ल्याउँछ र बिश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको यो प्रकोपको बिषम घडिमा पनि हामी मानसिक रुपमा बलियो भएर यसको सामना गर्न सक्छौं ।

अहिलेको डिजिटल युगमा हामी सबै समाजिक सञ्जालहरुमा सक्रिय भएको अवस्था छ । सूचनाकालागि पनि यसलाई सहजरुपमा प्रयोग गर्न थालिको सन्दर्भमा हामीले बुझ्नुपर्ने कुरा के छ भने जानकारी वा सूचना आधिकारीक श्रोतबाट आएको छ की छैन र समबन्धित क्षेत्रका बिज्ञबाट आएको हो होइन भन्ने कुरा मनन गर्नु महत्वपूर्ण हुन्छ । अन्यथा अनधिकृत रुपमा सामाजिक सञ्जालमा आएका सूचनाहरुले र जानकारीहरुले समाजमा भ्रम पैदा गर्नुकासाथै अनावश्यक रुपमा चिन्ता बढाउने सम्भावना हुन्छ ।

अन्त्यमा, यहाँहरु सबैमा मेरो अनुरोध, सरकारले हाम्रो स्वास्थ्य रक्षाकालागि लागू गरेको लकडाउनलाई हामीले जिम्मेवार नागरिकका रुपमा कडाइकासाथ पालन गरेर कोरोना भाइरसको संक्रमणको माहामारी सामना गर्न सहयोग गरौ ।

यदि यहाँहरुलाई कुनैपनि किसिमको मानसिक समस्या छ र मनोपरामर्श तथा सल्लाह चाहनुहुन्छ भने  यो लकडाउनको अवधिभर  मेरो मोवाईल नम्बर ९८५१०४७३५४ मा मसँग सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

  प्रा.डा.पुष्प प्रसाद शर्मा काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा बरिष्ठ मनोरोग बिशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ। 

ताजा खबर