प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार

साहित्य सदन नेपालले कविता र समालोचना विधामा सक्रियतापूर्वक साधनारत व्यक्तित्व प्रा.डा. रामप्रसाद ज्ञवालीलाई गोपालप्रसाद रिमाल पुरस्कार–२०८१ प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ ।

गुल्मी जिल्लामा २०२४ सालमा जन्मिएका ज्ञवालीका काव्य, आख्यान, बालसाहित्य, समालोचनाका क्षेत्रमा एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । विवश आँसु (नाटक), परिवर्तनको मोडमा (उपन्यास), जीवनका घुम्तीहरू (उपन्यास), औँसीका फूलहरू (महाकाव्य), आख्यानकार पारिजात (समालोचना ग्रन्थ), पुतली र झुसिल्किरो (कवितासङ्ग्रह), एकादेशमा (खण्डकाव्य), सानी परेवी र बाज (बालकथा), अश्रु ग्यास (कवितासङ्ग्रह), सम्पत्ति (एकाङ्की सङ्ग्रह), स्वप्नदृष्टि (यात्रा महाकाव्य) र पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या (सैद्धान्तिक समालोचना) लगायत कृति प्रकाशित छन् ।  रासस


ताजा खबर