संघीय संसद्को आगामी अधिवेशन विना अवरोध सहज रुपमा अगाडी बढाउने विषयमा सभामुख देवराज घिमिरेसहित प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच छलफल भएको छ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा भएको बैठकले वैशाखको २८ गतेबाट शुरु हुने संसद्को वर्षे अर्थात् बजेट अधिवेशन विना रोकटोक नियमित रुपमा सञ्चालन गर्न महत्वपूर्ण आधार प्रदान गरेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
सभामुख देवराज घिमिरेले अब बस्ने प्रतिनिधि सभाको बैठकमा कुनै अवरोध नहुने विश्वास व्यक्त गर्दै सदनको गतिरोध हटाउन आजको बैठकले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/439848608_3794078487471340_6335740995289222466_n-1024x671.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/439848608_3794078487471340_6335740995289222466_n-1024x671.jpg)
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने भन्दै आफू विरुद्ध कहीँ, कतै मुद्दा नचलेको कारण व्यक्ति विशेषमा रहेर समिति बनाउने नजिर बसाउन नहुने बताउनुभयो ।
बैठकपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायम राखेको बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/440313030_449547650987138_5507881371986458380_n-1024x670.jpg)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/440313030_449547650987138_5507881371986458380_n-1024x670.jpg)
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को आगामी अधिवेशन व्यवस्थित रुपमा अगाडी बढाउने विषयमा छलफल प्रभावकारी भएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा गृहमन्त्रीले संसदमा विषय राख्न पाउनुपर्ने, बैठकलाई सुचारु गर्नुपर्ने लगायतका विषयमा छलफल भएको जानकारी गराउनुभयो । रासस