यु-१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

युवा ब्याटर अर्जुन कुमालको सानदार ब्याटिङका बाबजुद नेपाल एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

योसँगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना अङ्क गणितीय सम्भावना मात्रै बाँकी छ । जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ८८ रनमा अल आउट भयो । नेपालका अर्जुन कुमाल १ सय ८ बलमा १३ चौकासहित ९१ रनमा आउट भए ।

अर्जुन बाहेक अन्य कुनै पनि नेपाली ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् । यसअघि नेपालबाट यू १९ क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले २०१६ को यू १९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन बनाएका थिए । यू१९ मा नेपाली ब्याटरले टेस्ट टोलीविरुद्ध बनाएको त्यो नै उच्च योगफल थियो । अर्जुनले दीपेन्द्रको कीर्तिमान तोडेका हुन् ।

नेपालले ओपनर विपिन रावललाई शून्यमा गुमाएको थियो । दीपक बोहरा १५ रनमा क्याच आउट भए । कप्तान देव खनाल २४ रनमा क्याच आउट भए । उत्तम थापामगर ४ र आकाश त्रिपाठी शून्यमा आउट भएपछि नेपाल समस्यामा परेको थियो ।

गुलशन झा १७, दीपेश कँडेल ११, सुवास भण्डारी ८ र हेमन्त धामी शून्य रनमा आउट भए । अफगानिस्तानका फरिदुन दावुदजाईले ३ विकेट लिए । नसिर खानले ३ विकेट लिए । मोहम्मद युनिस जद्रानले २ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको थियो ।

अफगानिस्तानका जाम्शिद जद्रानले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए । त्यस्तै नौमान साह अघाले ६० रनको आक्रामक इनिङ खेलेका थिए । नेपालका गुलसन झा, सुवास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मङ्गलवार भारतसँग खेल्नेछ ।


ताजा खबर