सञ्जीव-एकताको बच्चाको उपचारमा ग्रान्डी अस्पतालको गम्भीर त्रुटि : मेडिकल काउन्सिल

नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र  एकता घिमिरेको बच्चाको उपचारका क्रममा ग्रान्डी इन्टरनेसनल अस्पतालले गम्भीर त्रुटि गरेको ठहर गरेको छ।

प्राध्यापक डाक्टर गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा काउन्सिलले उपचारमा संलग्न चिकित्सक र अस्पताललाई उक्त त्रुटिबारे स्पष्टिकरण माग गरेको छ।

२०७५ असार १२ गते एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो।  बच्चा जन्मेको आधा घन्टामै  उसलाई नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखियो। पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला’ ब्याक्टेरियाको संक्रमण भयो। बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो। झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले गत वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो बच्चा निको हुन नसक्ने थाहा पाएका थिए।

त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए।

उनको उजुरीमाथि छानबिन गर्दै काउन्सिलले अस्पतालबाट मुख्य तीन गल्ती भएको देखाएको छ।

पहिलो, उपचारको क्रममा बच्चालाई प्यारासिटामोल ओभरडोज भएको छ।

दोस्रो, अल्ट्रा साउन्ड गर्दा बच्चाको मस्तिष्कमा देखिएको हाइड्रोसेफालसको आकारबारे रेडियोलोजिस्ट र न्युरो सर्जनको बुझाइमा फरक देखिएको र यसबारे बिरामी पक्षलाई बुझाइएन।

तेस्रो, मस्तिष्कको अल्ट्रासाउन्डपछि रेडियोलोजिस्टको सुझावअनुसार सिटी स्क्यान अथवा एमआरआई गर्न ढिलाइ भएको छ।

‘उपचारको क्रममा विभिन्न चिकित्सकहरूको टिमबाट धेरै कमीकमजोरी भएको देखियो,’ काउन्सिलको निष्कर्ष छ,‘विशेष गरी नवजात शिशुलाई उपचारमा अत्याधिक मात्रामा एकै पटक प्यारासिटामोल औषधी दिनु गम्भीर त्रुटि देखियो।

उपचारको यो अवस्थाहरूको बीचमा पटक-पटक टाउकोको शल्यक्रिया भएको बिरामी पक्षले उपचारप्रति आशा जगाएर बसेको तर बिरामीको अवस्था अत्यन्तै नाजुक हुँदै जाँदा पनि बिरामी पक्षसँग उचित परामर्श र सहमति नलिई छैठौं पटक शल्यक्रियाको तयारी गरेकोबाट अस्पतालले मानवीय संवेदनशीलता पनि नदेखाएको काउन्सिलले उल्लेख गरेको छ।

चिकित्सक र अस्पतालको यस्तो कार्य काउन्सिलको आचार संहिता विपरित भएकाले उपचारमा संलग्न न्युरो सर्जन र बाल रोग चिकित्सक टिमलाई नियमअनुसार कारबाही सिफारिस गर्नु पर्ने देखिएको काउन्सिल जनाएको छ।  कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित चिकित्सकहरूलाई काउन्सिलले स्पष्टिकरण सोधेको छ।

साथै उपचारको क्रममा प्रशस्त प्रशासनिक एंव व्यवस्थापकीय कमीकमजोरी देखिएकाले अस्पताल व्यवस्थापनलाई समेत स्पष्टिकरण सोध्ने काउन्सिलले निर्णय गरेको छ।

भएको के थियो? यो स्टोरी पढ्नुस्-

एकदिन झिपिक्क निभ्नेछ उनीहरूको ‘नयाँ संसार’

ऊ यो दुनियाँमा आएकै थिएन।

सञ्जीव र एकताले भने उसलाई आफ्नो संसारमा सजाइसकेका थिए।

दुई जना बसेर कैंयन् दिन र रात तीन जनाको संसारको कुरा गर्थे। योजना बुन्थे।

दुबै जागिरे थिए। बच्चा पाउने योजना बनेपछि पैसा जोहो गर्न थाले।

नियमित कुन अस्पताल जाने? बच्चा कहाँ पाउने? खोजी गर्न थाले।

धापासीको ग्रान्डी इन्टरनेशनल अस्पतालमा सुत्केरीको नर्सिङ सेवा राम्रो छ भन्ने सुने। त्यही बच्चा पाउने निधो गरे।

अस्पतालमा नियमित ‘चेकअप’ सुरू भयो।

सुरूदेखि नै एकता र उनको पेटभित्रको बच्चाका सबै रिपोर्टहरू राम्रा आए।

डाक्टरले पनि राम्रो छ भने।

आमा बाबुको मन न हो- ‘एक्स्ट्रा’ सचेत थियो। केही वंशाणुगत रोग पो लाग्छ कि भनेर उनीहरूले रगत जाँच्न भारत पठाए।

त्यहाँबाट पनि सबै नतिजा राम्रो आयो।

‘बच्चा स्वस्थ होस् भनेर हामीले अर्गानिक खानामात्र खायौं, सञ्जीवले भने, ‘हरेक पटक देखाउँदा डाक्टरले बच्चाको विकास राम्ररी भइरहेको छ भन्नुहुन्थ्यो।’

एकतालाई थाइराइड र फ्याट्टी लिभर (कलेजोमा बोसो भएको) को समस्या थियो।

गर्भवती भएको तीस सातापछि उनले हरेक हप्ता थाइराइड र कलेजो जाँचिन्। डाक्टरले भने अनुसार दबाई खाएर थाइराइड र फ्याट्टी लिभरलाई सन्तुलनमा राखेकी थिइन्।

डाक्टरले सुझाइन्- ‘फ्याट्टी लिभर’ भएकालाई नर्मल डेलिभर गर्न गाह्रो हुन्छ। ३७ साता पुगेपछि सर्जरी गरौं। उनीहरूले डाक्टरको सुझाव माने।

३६ सातामा एकताको पेटको अल्ट्रासाउन्ड गरियो। बच्चाको सामान्य अवस्था थियो।

रिपोर्ट हेर्दै डाक्टरले भनिन्- आजै डेलिभरी गर्दा पनि हुन्छ। तपाईंहरू घर सल्लाह गर्नुस्। अब जतिबेला गरे पनि हुन्छ।

एकताले आफ्नी आमालाई सोधिन्। २०७५ असार १२ गते मंगलबार परेको थियो। शुभ साइत भनेर त्यही दिन एकताको सर्जरी भयो।

गर्भवती भएको ३६ हप्ता १ दिनमा एकताको पेटबाट २.८ किलोको उनीहरूको नयाँ संसार बाहिर आयो। पूरानो संसारलाई एकाएक रंगिन बनायो।

बाआमाको खुसीको सीमा थिएन।

समयले त्यो खुसीको सीमा कोरिदियो- आधा घन्टा।

त्यसपाछि उनीहरूबाट खुसी बिस्तारैबिस्तारै चिप्लन थाल्यो।

पछिल्लो एक वर्षमा त्यो धेरै टाढा पुगेको छ।

यी ३ सय ८० दिनमा सञ्जीव र एकताको जीवनमा खुसीले जति ठाउँ खाली गरेको छ, कुनाकाप्चा पनि नछोडी त्यो सबै हैरानीले ओगटेको छ।

त्यसले उनीहरूको मायाको परीक्षा लिएको छ। धैर्यताको परीक्षा लिएको छ। जीवनकै परीक्षा लिएको छ। परीक्षा जारी छ…

बच्चा जन्मेको आधा घन्टा नहुँदै नर्सहरू सञ्जीवलाई खोज्दै आए।

भने, ‘बच्चालाई सास फेर्न अप्ठेरो भएछ।’

प्रिम्याचुएर (बेला नपुगी) जन्मेकाले छोराको फोक्सोले पूरा सास फेर्न सकिरहेको थिएन।

बच्चालाई तुरून्तै नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखियो।

सञ्जीवलाई त्यतिबेलासम्म अस्पतालमा नवजात शिशुलाई राख्ने त्यस्तो युनिट हुन्छ भन्ने पनि थाहा थिएन। त्यस्तो युनिटले भर्खरै आमाबाबु बनेकाहरूको खुसी लामो समयका लागि बन्धकी राखिदिन सक्छ भन्ने त झनै थाहा हुने कुरै भएन!

डाक्टरहरूले सञ्जीवलाई फेरि भने- तपाईंको बच्चाको सास सामान्य भएन। भेन्टिलेटरमा राखौं।

उनले भने, ‘हुन्छ, जे गर्नुपर्छ गरौं।’

पाँच दिनसम्म भेन्टिलेटरमा राखियो।

भेन्टिलेटरमा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला’ ब्याक्टेरियाको संक्रमण भयो।

सञ्जीव र एकताको ‘नयाँ संसार’ सानो थियो। नाजुक थियो। ब्याक्टेरियासँग आफैं लड्न सक्दैनथ्यो।

उसलाई ‘एन्टिबायोटिक’ दिन सुरू गरियो।

सात दिन। चौध दिन। एक्काइस दिनसम्म उसले औषधी खायो।

बच्चा निको भयो। अस्पतालले डिस्चार्ज दियो।

उनीहरू घर फर्किए।

‘हामी दंग थियौं। अस्पतालले राम्रै उपचार दिएको पूर्ण विश्वास थियो। मनमा शंका थिएन,’ सञ्जीवले भने।

घर ल्याएको पाँच दिनपछि साँझपख बच्चालाई ज्वरो आयो। दूध खान छोड्यो। सञ्जीव र एकता बच्चा लिएर फेरि ग्रान्डी पुगे।

बच्चा अस्पतालमा भर्ना भयो। अर्को दिन बिहान एनआइसियूका डाक्टरहरूले भने- त्यस्तो गम्भीर केही छैन। २४ घन्टा राखेर डिस्चार्ज गरिदिन्छौं।

बर्खाको मौसमजस्तै बिहानको कुरा दिउँसो बदलियो। दुई बजे डाक्टरहरूले भने- सिजर्स (मस्तिष्कमा गडबडीका कारण काँप्ने वा थर्थराउने) देखियो, बच्चाको ढाडको पानी चेक गर्नुपर्छ।

सञ्जीव र एकताको मन पनि थोरै काँप्यो।

बच्चाको कलिलो ढाडमा सुई रोपेर पानी निकालियो। त्यसमा पिप पनि देखियो। पानी कल्चर गर्न प्रयोगशाला लगियो।

रिपोर्ट आयो- मेनिन्जाइटिस (मस्तिष्कमा संक्रमण) भएको छ।

एनआइसियूमै राखेर बच्चाको उपचार हुन थाल्यो।

संक्रमण छोराको मस्तिष्कमा थियो। चोट आमाको मुटुमा पुग्यो।

एकता आत्तिन थालिन्।

डाक्टरको कुरा सुन्न सञ्जीव एक्लै जान थाले।

‘म एक्लै गएर  बच्चाका राम्रा, नराम्रा सबै कुरा सुन्थें। आफैं आत्तिन्थें तर बूढीलाई राम्राराम्रा कुरामात्र भन्थें,’ सञ्जीवले भने।

अस्पतालबाट बच्चामा सरेको पहिलाको ब्याक्टेरियाले मेनिन्जाइटिस भएको भनियो। उपचार एनआइसियूमै जारी रह्यो।

४०औं दिनको बिहान डाक्टरले भने, ‘सबै ठीक छ। अब सात दिनको औषधी खानुपर्छ। त्यसपछि घर लैजाने।’

केही दिनमा छोरा घर लैजाने कल्पनाले पनि सञ्जीव र एकताको मन पुलकित भयो। दिउँसो बच्चा हेर्न एकता एनआइसियू छिरिन्।

सञ्जीव बाहिरै टहलिँदै थिए।

एकता ढोका खोलेर आइन्।

उनले देखे- एकताको अनुहार मुसलधारे पानी वर्षन लागेको कालो बादलझैं थियो।

सञ्जीवले सोधे, ‘के भयो?’

‘बच्चाको टाउकोमा पिप देखिएको छ, एमआरआई गर्नुपर्छ रे।’

सञ्जीवको मन खङ्ग्रङ्ग भयो।

सोचे, ‘कहाँबाट आयो पिप?’

एमआरआईले देखायो- बच्चाको टाउकोमा टन्नै पिप जेमको थियो।

‘अब के गर्ने?’ सञ्जीव र एकताले  सोधे।

डाक्टरले भने- सर्जरी गर्ने।

बच्चाको टाउको चिर्ने कल्पनाले मन भारी भयो। तर अर्को उपाय थिएन।

डाक्टरलाई उनीहरूले भने- जे गरेर हुन्छ, निको पार्नुस्।

न्युरो सर्जन अमित थापाको टिमले ४२ औं दिनमा बच्चाको टाउको चिर्‍यो। पिप निकाल्यो।

सात दिनपछि डाक्टरहरूले फेरि टाउकाको सिटी स्क्यान गरे।

रिपोर्ट हेरेर भने-बच्चाको टाउकोमा अझै पिप जमेको छ।

के गर्ने?

फेरि अप्रेशन गर्ने।

सञ्जीव र एकताले भने-हुन्छ गर्नुस्।

कलिलो टाउकोमा दोस्रो पटक अप्रेसन भयो।

बच्चाले दोस्रो अप्रेसन पनि धान्यो।

ऊ चल्थ्यो, हाँस्थ्यो। सारा हैरानीबीच सञ्जीव र एकताको संसार उजेलिन्थ्यो।

दु:खले अर्कै ढोकाबाट छिरेर सञ्जीवसामू फडा उठायो।

उनका बुवा ८४ वर्षका थिए। कान्छो छोराको सन्तान हेर्ने, खेलाउने कत्रो रहर थियो उनलाई। उनले नाति हेर्न त पाए, खेलाउन पाएनन्।

नातिको दोस्रो अप्रेसन भएको केही दिनमै उनी बिते।

घरमा बा बिते, अस्पतालमा छोरो जीवनका लागि संघर्षरत थियो।

‘म त पुरा किरिया पनि बस्न पाइनँ। घरमा एक रातमात्र बसें। त्यसपछि अस्पतालको अस्पताल,’ सञ्जीवले भने, ‘मलाई पर्न सक्ने जति दु:ख एकैसाथ पर्‍यो।’

सञ्जीव र एकता मन थामेर छोराको उपचारमा एकाग्रह भए।

छोराको टाउकोको पिप हराएन। तेस्रो अप्रसेन पनि भयो।

तेस्रो अप्रेसनको दुई सातापछि डाक्टरले फेरि भने- दिमागको अझै पिप बाँकी छ। निकाल्न फेरि अप्रेसन गर्नुपर्छ।

डाक्टरले नभनिकनै सञ्जीवले थाहा पाइसकेका थिए। सूचना प्रविधि क्षेत्रमा काम गर्ने उनले त्यतिञ्जेल मेडिकल जर्नलहरू पढेर छोरालाई भएको के हो र के के गर्नुपर्छ भन्नेबारे थाहा पाइसकेका थिए।

‘मलाई त टाउकोमा भएको सबै पिप निकाल्नु पर्छ भन्ने थाहा भइसकेको थियो। तर परिवारका अरू मान्छे कति अप्रेसन गरेको भनेर हैरान थिए। अस्पतालले पैसामात्र लिन खोजेको त होइन भन्थे,’ उनले भने।

सारा सास्ती खपेर पनि बच्चाको शरीर ठूलो हुँदै थियो।

एकदिन उसले पिप निकाल्न टाउको बाहिर राखिएको ड्रेन (पाइप) हल्लाइदियो। पाइप हल्लाएपछि पानी र पिप आउन बन्द भयो।

डाक्टरहरूले पिप त जसरी पनि निकाल्नुपर्छ त्यसका लागि टाउकोभित्र सन्ट (मस्तिष्कभित्र बढी भएको तरल पदार्थ निकाल्ने उपकरण) राख्नुपर्छ भने।

जन्मेको ७५ औं दिनमा बच्चाको चौथो अप्रेशन भयो।

चार पटक अप्रेशन गरे पनि बच्चा सामान्य नै थियो-हाँस्थ्यो, चल्थ्यो, खेल्थ्यो।

बच्चालाई सास्ती भएकोमा सञ्जीव र एकता पिरोलिएका थिए। तर ठीक हुन्छ भन्ने भरोसा थियो।

९० दिनपछि बच्चा डिस्चार्ज भयो। सञ्जीव र एकता छोरो बोकेर घर फर्किए।

बच्चालाई घरमा अस्पतालजस्तो सजिलो भएन। उ रोएको रोयै गर्न थाल्यो।

उनीहरू फेरि अस्पताल गए। डाक्टरहरूले भने- हरेक महिना फ्लोअपमा आउनुस्।

सञ्जीवले सोधे-कहिलेसम्म फलोअप गर्नुपर्छ।

‘दुई वर्षसम्म त आउनै पर्छ।’

चौथो महिनाको फलोअपमा डाक्टरले बच्चाको सिटी स्क्यान गरे। भने- सुधार छ। रिपोर्ट बेटर छ। दाँया मस्तिष्क ठीकै छ, बाँयातिर अलिकति पानी छ।

बच्चाको तौल पनि राम्ररी बढिरहेको थियो।

सञ्जीव र एकता पाँचौं र छैठौं महिना फलोअप गए।

डाक्टरले रिपोर्ट हेरे। फेरि भने- सबै ठीक छ।

सातौं महिना अल्ट्रासाउन्ड गर्दा रेडियोलोजिष्टले टाउकोमा ७.२ सेन्टिमिटरको हाइड्रोसेफालस (पानी जमेको ठाँउ) छ भन्ने रिपोर्ट दिए।

अल्ट्रासाउन्ड बिहान गरेको थियो। बच्चाको अपरेसन गर्ने न्यूरो सर्जन अमित थापा बेलुकामात्र आउँथे।

सञ्जीव र एकताले दिनभरि बाटो कुरे।

साँझ रिपोर्ट हेरेर थापाले भने, ‘यो हाइड्रोसेफालस होइन। म यसलाई एक्सभ्याकुम भन्छु।’

सञ्जीव र एकतालाई राहत मिल्यो।

‘पक्का फेल हुन्छु भनेको परीक्षामा पास भएजस्तो भयो, हामी खुसी भयौं’ सञ्जीवले भने।

उनीहरू दिन्दिनै छोराको टाउको नापिरहन थाले। विश्व स्वास्थ संगठनले बनाएको चार्टसँग आफ्ना छोराको टाउको दाँजे।

उसको टाउको अस्वभाविक रूपमा बढ्न थाल्यो।

आठौं महिनाको फलोअपमा अल्ट्रासाउन्ड गर्दा बच्चाको टाउकोमा ८.८ सेन्टिमिटरको हाइड्रोसेफालस छ भन्ने रिपोर्ट आयो।

सञ्जीव झस्किए।

डाक्टरलाई भने, ‘डाक्टरसाब, ८.८ सेमी भनेको त ठूलो ठाउँ हो, मेरो बच्चाको टाउकोमा दिमाग छैन कि क्या हो?

डाक्टर थापाले भने, ‘८.८ सेन्टिमिटर हुनै सक्दैन। यो ८.८ मिलिमिटर हुनुपर्छ।’

उनीहरूले डाक्टर थापाका कुरा पत्याए। घर फर्किए।

नौ महिनामा फेरि फलोअप गए।

अल्ट्रासाउन्डको रिपोर्ट आयो- बच्चाको टाउकोमा ९.८ सेन्टिमिटर हाइड्रोसेफालस छ।

उनीहरू विचलित भए। डाक्टर थापालाई भेटे।

उनले भने, ‘एक पटक एमआरआई गरौं।’

त्यतिञ्जेल बच्चाको नसा भेट्टाउनै मुस्किल भइसकेको थियो। एमआरआई गराउन लठ्ठ पार्ने औषधी दिन नसा नभेटिएपछि उसको तिघ्रामा काटेर सेन्ट्रल लाइन राखिएको थियो।

दबाइहरू दिनलाई ठूलो नसामा राखिने नलीलाई सेन्ट्रल लाइन भनिन्छ।

बिहान एमआरआई भयो, रिपोर्ट तुरून्तै आयो।

डाक्टर थापा भने चार बजेमात्र अस्पताल आए।

साँझ डाक्टर थापाले एमआरआइको रिपोर्ट हेरेर भने, ‘ल बच्चाको टाउकोमा पानी जमेको हो रैछ। भोलि अप्रेशन गर्ने।’

त्यतिञ्जेल सञ्जीव र एकता डाक्टर थापालाई भगवानजस्तो मान्थे। एकताको मन कहिलेकाहीँ खलबलिदा सञ्जीवले सम्झाउँथे, ‘जे भए पनि एम्सको गोल्ड मेडलिस्ट हो। उहाँ फेल खानुहुन्न।’

त्यसपछि भने डाक्टरसँग दुबैको विश्वास केही डगमगायो।

तर पनि उनीहरुले हार मानेनन्।

बच्चाको पाँचौं अप्रेसन भयो।

बच्चा फेरि चल्न थाल्यो। डाक्टरले बच्चालाई १२ घन्टा पोस्ट ओटीमा राख्नुपर्छ भने।

अर्को दिन बिहान बच्चालाई क्याबिनमा ल्याइयो।

ठूलो बोतल बोकेर औषधी दिन नर्स आइन्।

त्यतिञ्जेल एकता र सञ्जीवले त्यहाँका सबै डाक्टर र नर्स चिनिसकेका थिए।

एकताले नर्ससँग सोधिन्-  के औषधी हो?

उनले भनिन्- सिटामोल।

‘कति एमएल?’

नर्सले जवाफ फर्काइन्-६६ एमएल।

एकता तर्सिन्-यति सानो बच्चालाई यत्रो धेरै सिटामोल!

‘हामीले घरमा त दुई/तीन एमएल दिन्छौं। यति धेरै होइन होला। एकछिन डाक्टरलाई सोध्नुस्,’ एकताले आग्रह गरिन्।

नर्सले भनिन्- कार्डेक्स (बिरामीका विवरण भएको फाइल)मा यही लेखेको छ।

‘प्लिज, सोध्नुस् न,’ एकताले जिद्दी गरिन्।

भित्र गएकी नर्स एकछिन पछि फर्किन्।

भनिन्, ‘ए, चार एमएल पो रैछ!’

पहिला डोजको औषधीमा बच्चालाई ६६ एमएल प्यारासिटामोल  दिइसकेको  थियो।

त्यसपछि एकताले बच्चालाई प्यारासिटामोल बढी हुँदा के असर हुन्छ भनेर गुगल गरिन्।

गुगलले जवाफ दियो- कलेजोले काम गर्न छोड्नेसम्मको असर हुन्छ।

उनीहरूले परिवारकै एकजना डाक्टरलाई पनि सोधे। उनले पनि प्यारासिटामोल बढी हुँदा कलेजोमा असर पर्छ भने।

त्यतिबेलासम्म अस्पतालका डाक्टरहरूबीच खैलाबैला भइसकेको थियो।

बच्चाको लिभर फङ्सन टेस्ट (एलएफटी) भयो।

अर्को दिन फेरि ‘एलएफटी’ गर्ने भनियो।

सञ्जीवले सोधे- डाक्टरसाब्, टाउकोको अप्रेशन गरेको छ किन कलेजोको टेष्ट गर्ने?

डाक्टरले के के भनेर टारे। राम्ररी कुरा बुझाएनन्।

‘हामीलाई नेगेटिभ भाइब्स आउन थाल्यो। यत्रो पाँच पटक अप्रेसन गर्दा पनि हामीले कहिल्यै पनि शंका गरेका थिएनौं। जे भन्यो त्यहीमा विश्वास गरेका थियौं।’

तीन दिनपछि बच्चालाई फेरि ज्वरो आयो।

सिटामोल पहिला नै हाइडोज दिइसकेको थियो। त्यसैले खुवाउन मिलेन।

अस्पतालमा सञ्जीव र एकता रातभरि बच्चाको टाउकोमा पानीपट्टी लगाएर बसे।

भोलिपल्ट बिहान १० बजे पिआइसीयूका डाक्टर आए। तर उनीहरूसँग बच्चालाई दिने औषधी नै थिएन।

‘यत्रो अस्पताल छ, पाँच पटक अप्रेसन गरेको छ तर बच्चालाई ज्वरो आयो भने के गर्ने भन्ने उहाँहरूसँगै कुनै योजना थिएन,’ सञ्जीवले भने,‘दिउँसो २ बजेसम्म पनि बच्चालाई पानीपट्टीमात्र लगाएर बस्नु परेपछि हाम्रो धैयर्ताको बाँध टुट्यो।’

त्यो दिन डाक्टरसँग झगडा पर्‍यो।

साँझ ग्रान्डीका मेडिकल निर्देशक चक्रराज पाण्डे आए।

उनले बच्चालाई जोगाउने जिम्मा लिन्छु भने। सञ्जीव र एकता सम्हालिए।

एक सातासम्म ज्वरो निको भएन।

उसको सेन्ट्रल लाइनले काम गर्न छोड्यो। फेरि सेन्ट्रल लाइन जोड्ने कुरा आयो।

एमआरआईका रिपोर्ट अस्पतालले सिडीमा दिएको थियो। त्यसपछि सञ्जीवले ती सिडी अरू डाक्टरहरूलाई पनि हेर्न पठाए। उनको न्यौपाने परिवारमा धेरै जना डाक्टर छन्।

तीमध्ये एक डाक्टरले भने-तिम्रो छोराको बाँयापट्टीको दिमाग नै छैन। डाक्टरहरुले अहिलेसम्म के गरिरहेका छन्, किन पटक, पटक सर्जरी गरिरहेका छन्?

सञ्जीवले छोराको उपचारबारे बेलिविस्तार लगाए।

ती डाक्टरले भने, ‘जे भइरहेको छ, ठीक भएको छैन।’

त्यसपछि सञ्जीवले सामान्य बच्चाको दिमागको एमआरआई र आफ्नो बच्चाको एमआरआइ दाँजेर हेरे। आफ्नो छोराको बाँयापट्टी कालोमात्र देखाउँछ।

त्यतिञ्जेल सञ्जीवको झन्डै ३५ लाख रूपैयाँ खर्च भइसकेको थियो।

त्यसपछि उनले आफ्ना दाइसँग सल्लाह गरे।

अब केही हुँदैन। उसको केयर गरौं। अप्रेसन गर्ने, बच्चालाई दु:ख दिने काम नगरौं भन्ने निर्णयमा परिवार पुगे।

बच्चा अस्पतालमै थियो। नर्सहरूको जिम्मा लगाएर उनीहरू घर आए।

निको भएपछि बोलाउनु भने।

केही दिनपछि बच्चाको ज्वरो निको भयो घर लैजानुस् भनेर फोन आयो।उनीहरू अस्पताल गए। फेरि डाक्टर पाण्डेसँग बैठक भयो। त्यहाँ सञ्जीवले अस्पतालले गरेका गल्ती बताए। कहाँ, कहाँ गल्ती गर्‍यो भनेर आफूलाई लागेको सबै सुनाए।

डाक्टर पाण्डेसँग चर्काचर्की पर्‍यो। कुरा मिलेन।

बिरामी बच्चा बोकेर सञ्जीव र एकता ९ महिनापछि अस्पतालबाट घर फर्किए।

‘अस्पताललाई विश्वास गरेर गएका थियौं। फर्किँदा हामीले धोका र धेरै पीडा पायौं,’ सञ्जीवले भने।

सेतोपाटीसँग कुरा गर्दै बच्चाको पाँच पटक अप्रेसन गरेका डाक्टर थापाले आफूहरूले तत्कालीन समयमा लिएका निर्णयको बचाउ गरे।

‘छब्बीसौं दिनमा एमआरआई गर्नुपर्छ भनिएको थियो किन गरिएन भन्ने उहाँको प्रश्न रैछ। बच्चाको एमआरआई गर्नु एकदमै कठिन काम हो। त्यही भएर त्यतिबेला डाक्टरसाबहरूले त्यो रिक्स नलिन चाहनुभएको होला,’ डाक्टर थापाले भने, ‘नराम्रो गरौं भन्ने सोचेर त कुनै पनि डाक्टरले उपचार गर्दैनन्।’

उनले ८.८ सेन्टिमिटर हाइड्रोसेफालस भएको भन्ने रिपोर्टको चित्रमा हेर्दा त्यस्तो नदेखिएकाले आफूले सेन्टिमिटर होइन मिलिमिटर होला भनेको बताए।

‘चित्रमा आठ सेन्टिमिटरको मार्क कहीँ पनि थिएन। त्यही भएर मैले आठ मिलिमिटर भनेको थिएँ। तर एमआरआई पनि गर्नुपर्छ भनेको थिएँ,’ थापाले भने।

प्यारासिटामोलको घटनामा अस्पताल प्रशासनले एकजना डाक्टरलाई बर्खास्त गरिसकेको थापाले बताए।

ग्रान्डी अस्पतालका मेडिकल निर्दशक चक्रराज पाण्डेले काउन्सिलको निर्णय आएपछि यस्तो केसमा अघि बढ्न सजिलो हुने बताए।

‘मलाई योसम्बन्धी पछिमात्र थाहा भयो। तर पनि अस्पतालको नेतृत्वको तर्फबाट मैले जिम्मेवारी लिन्छु, अस्पतालको केही कमजोरी छ भने सुधार्ने प्रतिवद्धता व्यक्त गर्छु,’ पाण्डेले भने,‘  यो केसले कोही बच्चा मस्तिष्कको कमजोरीसहित जन्मिए उपचार गर्ने कि नगर्ने, बचाउन सकिन्छ भन्ने प्रयास गर्ने कि नगर्ने बहस जन्माएको छ।’

आफूहरूको कानुनी लडाइँबारे सञ्जीव भन्छन्, ‘अरूलाई यस्तो नहोस्। डाक्टर सचेत होऊन्। बिरामी र उनीहरूका परिवार सचेत होऊन् भनेर हामीले दु:खबीच कानुनी लडाइँ लड्ने निधो गरेका हौं।’

यता उनीहरूको छोराको लडाइँ पनि बाँकी नै छ। बैंकको जागिर छोडेर एकता छोराको स्याहार गरिरहेकी छन्।

थोरै दूधबाहेक अहिले उसले केही पनि खान सक्दैन। शरीरभन्दा कैयौं गुणा छिटो उसको टाउको बढिरहेको छ। टाउकोभित्रको दिमाग भने दिनदिनै घटिरहेको छ।

‘केही थाहा पाउँदैन, पुतलीजस्तो छ। अलि बढी सुत्यो भने हाम्रो मुटु चिसो हुन्छ। गएर उसको धड्कन छाम्छौं,’ सञ्जीवले भने, ‘अनि एकछिन ढुक्क हुन्छौं।’

सञ्जीव र एकतालाई थाहा छ- यो ढुक्क सधैंका लागि होइन।

एकदिन उनीहरूको ‘नयाँ संसार’ झिपिक्क निभ्नेछ।

छोराको याद बोकेर, हैरानीको खत बोकेर सञ्जीव र एकता फेरि दुई जनाको पूरानै संसारमा फर्कनेछन्। जीवन अघि बढाउनु त छँदैछ!


ताजा खबर