चिउरीबाट घिउ उत्पादन गर्दै चितवनका चेपाङ

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ।

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घिउ उत्पादन गर्ने गरिएको छ। कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर घिउ उत्पादन गर्ने गरेका छन्।

जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घिउ उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए। उनले भने, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घिउ उत्पादन गर्दै आएका छौँ।” उनले चिउरीकै घिउ प्रयोग गरेर खाना पकाउँदै आएको बताए। बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए।

“बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, कलारामले भने, “चिउरीको घिउ स्वास्थ्यका लागि पनि राम्रो छ।” चिउरीको घिउमा कुनै मिसावट पनि नहुने उनको भनाइ छ। चिउरी असारमा पाक्छ। साउनमा टिप्ने गरिन्छ। चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राखिन्छ। एक वर्षमा झण्डै  चार मुरी चिउरी टिप्दा वर्षभरिलाई पुग्ने गरेको कलारामले बताए। तर यो घिउले बजार भने पाइरहेको छैन। “यसको बजार भाउ छैन। तर न्यून संख्यामा घिउ किन्न आउने गरेका छन्”, उनले सुनाए।

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घिउ औषधिको रूपमा समेत प्रयोग गर्ने गरेको बताउनुभयो। “हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ”, उहाँले भन्नुभयो। बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उनले बताए। घिउ निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रूपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताए।

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ। चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको बताए।

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ। चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ। अहिले  चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ। कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घिउले बजार पाउन नसकेको बताए।

“अरु तेलको प्रयोग बढेपछि चिउरीको घिउको खासै माग छैन”, उनले भने, “यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ।” चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ।  रासस


ताजा खबर