सीताराम विवाहपञ्ची महोत्सव : अयोध्याबाट आउने बेहुलालाई राष्ट्रपतिले स्वागत गर्ने

जनकपुरधाम, ८ मंसिर । जनकपुरमा सीताराम विवाहपञ्ची महोत्सवको तयारी तीव्र बनाइएको छ । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाह महोत्सवको मुख्य दिन यस वर्ष मंसिर १५ गते परेको छ ।

जानकी मन्दिर व्यवस्थापन पक्ष, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनकपुरधाम उपमहानगरपालिका लगायत सरोकारवाला निकायले विवाहपञ्चमी तयारीको काम तीव्र गतिमा अघि बढाएका छन् । जानकी मन्दिर सजावट, स्वयम्वरको लागि बाह्रबिघा मैदानमा व्यवस्थापन, बाहिरबाट आउने दर्शनार्थीका लागि आवास र सुरक्षाको तयारीमा सम्बन्धित पक्ष जुटेको हो ।

पाँच वर्षमा एकपटक अयोध्याबाट आउने साधुसन्तको विशेष जन्ती यस वर्ष आउन लागेकाले विवाहपञ्चमी महोत्सव भव्य हुने र त्यसै अनुसारको तयारी भइरहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी आउने निश्चित भएको छ । बाह्रबिघा मैदानमा भारत उत्तर प्रदेशको अयोध्यबाट आएका साधुसन्तलाई स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवि भण्डारीले अयोध्याबाट आउने जयन्तीलाई स्वागत गर्ने कार्यक्रम छ । त्यहाँ उनले सम्बोधन पनि गर्नेछिन् ।

यसैबीच प्रत्येक पाँच वर्षमा अयोध्यबाट बेहुला रामलाई लिएर आउने साधुसन्तको जन्ती बिहीबार नै हिँडिसकेको सहमहन्त वैष्णवले जानकारी दिए । उनका अनुसार सवारीसाधन, रथ, घोडासहितको जन्ती मंसिर १३ गते जनकपुर आइसक्ने छ ।

सीताराम विवाहपञ्चमीको दिन यस वर्षपनि हेलिकप्टरबाट पुष्पवृष्टि हुने भएको छ । नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्ने जानकी मन्दिरले जनाएको छ । विवाहपञ्चमी महोत्सवका दिन साँझ जनकपुरधाम उपमहानगरपालिकाले घरघरमा दीपावली कार्यक्रम गर्न आग्रह गरेको छ ।

रासस


ताजा खबर