जनकपुरमा विवाहपञ्चमीको तयारी तीव्र : अमित साह र योगी आदित्यनाथलाई निम्तो

जनकपुरधाम– अहिले जनकपुरधाममा सीताराम विवाह पञ्चमीको तयारी तीव्र गतिले गरिदैँछ । प्रत्येक वर्ष एक हप्ता सम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावट देखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको छ ।

मंसिर १० गते देखि सुरु हुने विवाहपञ्चमी एक सातासम्म चल्ने भएकोले यसको तयारीको लागि कार्तिक २ गते नै विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको थियो । १ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेर करिब डेढ महिना पहिले नै जिम्मा दिइए पनि तयारी अहिले पनि जारी छ ।

प्रत्येक ५ वर्षको अन्तरालमा अधिकारीक रुपमा आउने गरेको बाराती (जन्ती) यस पटक भारतको अयोध्याबाट आउने भएकोले यसको लागि विशेष तयारी भइरहेको जानकी मन्दिरको छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

यस पटक औपचारिक रुपमा पाँच सयको संख्यामा साधु सन्तहरु अयोध्याबाट बारातीको रुपमा आउने र अनौपचारिक रुपमा हजारौँको संख्यामा आउने छोटे महन्थ रामरोशन दासले बताए ।

अयोध्याबाट आउने जन्ती मंसिर १२ गते साँझ सम्म जनकपुरधाम आइपुग्ने र १३ गते औपचारिक रुपमा अयोध्याबाट आउने जन्तीलाई स्वागत गरिने दासको भनाई छ । यता अयोध्याबाट जनकपुरधामको लागि जन्ती बिहीबार प्रस्थान गरीसकेको छ ।

त्येक पाँच वर्षमा औपचारिक रुपमा अयोध्याबाट बाराती आउने गरेको र यस पटक अयोध्यामा वर्षौँदेखि विवादित रहेको जग्गामा राम मन्दिर बन्ने भएपछि यस पटक विवाहपञ्चमीको लागि जनकपुरधाममा आउनेको संख्यामा बढोत्तरी हुने अनुमान रहेकोले त्यसै अनुरुप तयारी भइरहेको छ ।

प्राचिन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ । यहाँ विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट समेत लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन् । र यसमा आउनेहरुको संख्यामा दिनानुदिन बढोत्तरी हुँदै गएको छ ।

प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ । मंसिर १० गते देखि सुरु हुने सप्ताहव्यापी कार्यक्रम मंसिर १६ गते राम कलेवा गरी सम्पन्न हुन्छ ।

जनकपुरधाममा मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीमा यस पटक पनि पाहुनाको रुपमा विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए ।

भारतका गृहमन्त्री एवं भाजपाका अध्यक्ष अमित साह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विवाहपञ्चमीमा सहभागी हुन पत्राचार गरेको छोटे महन्थ दासले बताए । उनले भने, ‘यहाँबाट पत्राचार गरेपनि अहिले सम्म त्यहाँबाट आउने वा नआउने सम्बन्धमा अधिकारिक जानकारी आएको छैन् ।’

त्यस्तै सीताराम विवाहपञ्चमी राष्ट्रको गौरवको पर्व रहेकोले यसमा प्रमख अतिथिको रुपमा उपस्थित हुन राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा समेत दिएको दासले बताए ।

‘विवाहपञ्चमीमा उपस्थित हुनको लागि यहाँका विभिन्न पार्टीका नेताहरुलाई समेत निमन्त्रणा दिएको छु,’ दासले भने, ‘तर निमन्त्रणा दिएपनि सबैलाई विवाहपञ्चमी अन्तर्गत मनाइने तीलकोत्सवमा उपस्थित हुनको लागि आग्रह गरेको छु ।’ मुल समारोह दिन विशिष्ट व्यक्तिहरुलाई बोलाउँदा श्रद्धालु भक्तजनहरुलाई समस्या हुनेगरेकोले पहिला नै आउन आग्रह गरेको उनले बताए ।

पछिल्लो पटक भारतको उत्तर प्रदेशका मुख्मयन्त्री योगी आदित्यनाथ समेत यहाँ विवाहपञ्चमीको अवसरमा आएका थिए ।

एक हप्ता सम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर १० गते मंगलवार जनकपुरधाम नगर दर्शनबाट सुरु हुन्छ । नगर दर्शन जानकी मन्दिरको प्रांगणमा मनाइन्छ । त्यस्तै दोस्रो दिन फूलवारी लिला मनाइन्छ जुन विवाह मण्डपको पार्कमा आयोजना हुने जानकी मन्दिरले जनाएको छ ।

त्यस्तै तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठो एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र साताैँ दिन राम कलेवा हुन्छ । जसमा जनतीको रुपमा आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ । र विधिवत रुपमा एक हप्तासम्म चलने विवाहपञ्चमी सम्पन्न हुन्छ ।

विवाहपञ्चमीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । यस महोत्सवमा नेपालसहित भारतका श्रद्धालु भक्तजनहरु आउने गरेकाले सुरक्षामा करिब ३२ सय प्रहरी परिचालन गरिने धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

उनको अनुसार श्रद्धालुहरुको सुरक्षाको लागि जनपद प्रहरी २३ सय ३०, ट्राफिक प्रहरी ११६ त्यस्तै सशस्त्र प्रहरी ७०८ जना परिचालन गरिने प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

सुरक्षामा खटाईने प्रहरीहरु गाडी मोवाईल, पैदल गस्ती, चेक प्वाईन्ट, चेकजाँच लगातयका काम गर्ने जनाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै कुकुर टोलीलाई समेत खटाईने जनाइएको छ । यस्तै संवेदनशिल स्थान पहिचान गरी १ सय भन्दा बढि स्थानमा सिसि क्यामरा जडान गरी जानकी मन्दिरमा सुरक्षा पोस्ट कमाण्ड स्थापना गरी २४ औँ घण्टा सिसिक्यामरा मार्फत निगरानी गरीनेछ ।

रासस


ताजा खबर