कर्णालीको ढुङ्गा बेचेर लाखौँलाई रोजगारी दिन सकिन्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णाली प्रदेश प्राकृतिक स्रोतको धनी भए पनि गरिब भनेर बनाइएको भाष्य बदल्न लाग्नुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले कर्णालीमा रहेका ढुङ्गा बेचेरै प्रशस्त आम्दानी लिन सकिने सम्भावना रहे पनि त्यसको उपयोग नगरी विगतदेखि नै गलत भाष्य निर्माण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नकारात्मक रूपमा कर्णालीलाई व्याख्या गर्नेभन्दा पनि सकारात्मक पक्षतर्फ पनि ध्यान दिऔँ, यहाँको सम्भावनातर्फ सबैले ध्यान दिएर त्यहीअनुसार योजना बनाउनुपर्छ । कर्णालीको ढुङ्गा बेचेर पनि हजारौँलाई रोजगारी दिन सकिने सम्भावना छ ।”

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने गरी आफूले योजना बनाएको पनि उहाँको भनाइ थियो । “अहिले देशमा केही हुँदैन भन्ने निराशा बढ्दो छ, त्यो निराशालाई आशामा बदल्ने गरी मैले केही योजना ल्याएर सुरुआत गरिसकेको छु”, मन्त्री अर्यालले भन्नुभयो, “स्वदेशमै रोजगारीका प्रशस्त सम्भावना छन् । अब स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्छौँ, त्यसका लागि हामीले केही नयाँ सोच र जोशका साथ कामको थालनी गरेका छौँ ।”

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अहिलेसम्म धेरै रकम खर्च भए पनि उपलब्धि हासिल हुन नसकेकाले सो कार्यक्रमको काम परिवर्तन गर्न लागिएको बताउनुभयो ।

आगामी वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धेरै प्रतिफलप्राप्त हुने उहाँको दाबी थियो । यसैगरी उहाँले भारततर्फ रोजगारीमा जानेहरूको समेत तथ्याङ्क राख्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

यसैबीच मन्त्री आर्यालले आफ्नो पार्टी सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप शतप्रतिशत गलत रहेको दाबी गर्नुभयो । संसदीय छानबिन समितिका नाममा संसदीय क्रियाकलाप प्रभावित बनाइएको पनि उहाँको भनाई थियो । आफूहरू समाजको स्वरूप फेर्ने गरी आएको बताउँदै उहाँले केही पार्टी सत्ताबाहिर रहँदा छटपटाइरहेको आरोप लगाउनुभयो ।

यसैबीच श्रम तथा रोजगार मन्त्रालयले जेठ २५ र २६ गते सुर्खेतमा रोजगार मेला आयोजना गर्ने भएको छ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा दुई दिने रोजगार मेला आयोजना गरिएको मन्त्रालयका सहसचिव दीपक नेपालले जानकारी दिनुभयो । रासस


ताजा खबर