‘गुटगत राजनीतिले समस्याको समाधान हुँदैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताउनुभएको छ ।

पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार बालुवाटार पुग्नुभएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका केही सदस्य नेतासँग उहाँले यस्तो बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष प्रचण्ड सहितका नेताहरूले बैठक बोलाउन दुई पृष्ठको लिखित आग्रह पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । अध्यक्ष ओलीले सल्लाह गरेर बैठक बोलाउने बताउनुभएको सल्लाहकार थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले बैठक चाहियो भने काल्पनिक, झुठा कुरा बोल्न, लेख्न छाड्नुस्, पार्टी विभाजन गर्ने खालका गतिविधि नगर्न नेताहरूलाई ध्यानाकर्षण गराउँदै गुटगत राजनीतिले समस्याको समाधान नहुने धारणा व्यक्त गर्नुभएको जनाइएको छ । नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “बैठक बस्नु हुँदैन भनेर मैले भनेको छैन, बैठक भोलि बसौँला, पर्सी बसौँला, सल्लाह गरेर बसौँला तर त्यसअघि तपाईंहरू पनि सच्चिनुपर्छ ।”

प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बसाउन लिखित रूपमै आग्रह गरिएको पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो । कोरोना भाइरस (कोभिड–१९) महामारीले देशमा सिर्जना गरेको अवस्था, स्थायी कमिटीले गरेका निर्णयको कार्यान्वयन, पार्टीमा उत्पन्न सङ्कट, राष्ट्रियता लगायतको सम्बन्धमा छलफल गर्न सचिवालयको बैठक बस्न लिखित आग्रह
गरिएको बताइएको छ ।

नेताहरूका अनुसार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र प्रवक्ता श्रेष्ठको गतिविधिप्रति आक्रोशित हुनुभएको थियो । श्रेष्ठले पार्टी प्रवक्ताको मर्यादा नाघेको र अध्यक्ष प्रचण्डले ठाउँठाउँमा गुटगत भेला गर्दै गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ ।

नेताहरूका अनुसार कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न सरकार र पार्टीले सोचेजस्तो कार्य नभएको, भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको, पार्टीसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् हेरफेर तथा अन्य संवैधानिक नियुक्ति गरिएको, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँगको भेट तथा कर्णाली विवाद लगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।

शनिबारको छलफलमा अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।


ताजा खबर