‘झिना मसिना विषयमा नअल्झिन काँग्रेस सभापतिको आग्रह’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण जनता ठूलो सङ्कटमा रहेकाले पार्टीभित्रका झिनामसिना विषयमा नअल्झिन आग्रह गर्नुभएको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा केही वरिष्ठ केन्द्रीय सदस्य सम्मिलित बैठकको सुरुवात गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

बैठकमा मुख्य गरी, कोरोना महामारी र सरकारका कामको समीक्षा, पार्टीभित्रको आन्तरिक विवाद र त्यसमा १६ बुँदे लिखित ध्यानाकर्षणपत्र, १४ औं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रित भएको जानकारी केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दिनुभयो ।

बैठकमा सभापति देउवाले कोरोना महामारीबाट जनता ठूलो सङ्कटमा छन्, सरकारले कोरोनाको रोकथाम, उपचार र नियन्त्रण गर्ने कार्यबाट हात झिकेको अवस्था छ, त्यसैले कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘‘कोरोनाका कारण जनता आहत छन्, संविधान र लोकतन्त्र नै सङ्कटमा पर्ने खतरा बढ्दैछ, यस्तो बेलामा हाम्रा आन्तरिक सानातिना, झिनामसिना विषयभन्दा माथि उठेर पार्टी पूर्ण एकता कायम गरेर जाऔं ।’’

‘पार्टीको विधान अनुसार नै विभाग गठन गरेको, ढिलाइ हुनुमा आफ्नो कारण नभई तपाईहरूले समयमै नाम नदिँदा ढिला भएको’ भनाइ सभापति देउवाले बैठकमा राख्नुभएको थियो ।

पार्टीको विधान अनुसार नै विभाग गठन भएको र सबैलाई पत्रसमेत दिइसकेकाले अब त्यो निर्णय फिर्ता नहुने स्पष्ट पार्नु हुँदै सभापति देउवाले अन्य विषयमा गहन छलफल गरेर एकताबद्ध भएर जान आग्रह गर्नुभएको जानकारी पनि मुख्य सचिव पौडेलले दिनुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत २७ जना केन्द्रीय सदस्यले सभापतिलाई बुझाएको १६ बुँदे ध्यानाकर्षणपत्रका बारेमा छलफल बढी केन्द्रित भएको थियो ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गर्नुभएकालाई क्रियाशील सदस्यता वितरण गर्ने प्रक्रिया, हालसम्म क्रियाशील सदस्यता वितरण र समायोजनका विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको कामकारबाही जनताप्रति उत्तरदायी नभएको विषयमा काँग्रेसभित्र एकमत रहेको छ तर आन्तरिक खिचोलाका विषयमा छलफल जारी छ, कुनै टुङ्गोमा पुग्ने कार्य भएको छैन भन्नुभयो ।

पदाधिकारी बैठक आज १ बजे पुनः बस्ने छ । पदाधिकारी बैठकमै छलफल गरेर सहमति जुटाएर त्यसलाई कात्तिक २१ गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने तयारी रहेको छ । सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । –रासस


ताजा खबर