राष्ट्र बैंकद्वारा बैंकहरुलाई पुनर्कर्जाको लागि आवेदन खुला : आगामी असोज १४ गतेसम्म आवेदन दिन पाइने

नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन खुलाएको छ । आगामी असोज १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

राष्ट्र बैंकले खुलाएको यो आवेदनमा बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरेको कर्जालाई नै धितो मानेर राष्ट्र बैंकले ती बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जा दिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले माग गर्ने कुल पुनरकर्जा रकम सो संस्थाको प्राथमिक पुाजीको २५ प्रतिशतसम्म मात्रै हुनुपर्नेछ । आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि कम्तिमा पनि १ वर्ष बाँकी रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीको हकमा भने ऋणी स्वयम्ले म यो बैंक वा वित्तीय संस्थाबाट मात्रै पुनरकर्जा सुविधा लिन्छु भनेर जानकारी गराउनु पर्नेछ ।

पुनरकर्जाको लागि बैंक तथा वित्तीय संस्थाहरुले मागेको कुल रकमको कम्तिमा पनि ७० प्रतिशत रकम लुघ, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तरगत हुने गरी माग गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । पुनरकर्जा माग गर्नको लागि कर्जा छनोट गर्दा बैंक वित्तीय संस्थाको प्रत्येक शाखाबाट कम्तिमा पनि ५ वटा ग्राहक ऋणी समेटिएको हुनुपर्नेछ ।

व्याज बढीमा ५ प्रतिशत

बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट लिएको रकमले ऋणीलाई व्याजमा छुट दिने हो । पुनरकर्जा कार्यविधिमा तोकिए अनुसारको व्यवस्था पूरा गरेका असल वर्गका कर्जा धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

नेपाल राष्ट्र बैंकले ३ प्रकारका कर्जामा पुनरकर्जा सुविधा उपलब्ध गराउनेछ । यसमध्ये लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग २ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिन पाउने छन् ।

यस्तै, विशेष पुनरकर्जामा राष्ट्र बैंकले १ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग ३ प्रतिशत व्याज लिन पाउने छन् । साधारण पुनरकर्जामा राष्ट्र बैंकले ३ प्रतिशत व्याज लिन्छ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिनुपर्ने हुन्छ ।

कति समयको लागि पाइन्छ रकम ?

यसरी लिइने पुनरकर्जाको अवधि बढीमा १ वर्षको मात्रै हुन्छ । र, यस्तो कर्जा नवीकरण हुदैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी राष्ट्र बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा १ वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि ६ महिना अवधिको हुनेछ ।

कति रकमसम्म पाइन्छ पुनरकर्जा ?

नेपाल राष्ट्र बैंकबाट आह्वान गरी बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ हुन्छ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुन्छ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

राष्ट्र बैंकबाट आह्वान गरी लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

अति प्रभावित क्षेत्र

१. पर्यटन
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटन: स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार
२. हवाई तथा पर्यटकीय यातायात;
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल ;
५. रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) ;
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;
७. कुखुरापालन व्यवसाय ;
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ;
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित क्षेत्र

१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय ;
२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर ;
३. यात्रुवाहक स्थल यातायात ;
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय ;
६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर ;
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ;
८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण ;
९. वन तथा खनिजजन्य उद्योग ;
१०. निर्माण व्यवसाय;
११. औषधि उत्पादन ;
१२. छपाइ, प्रकाशन तथा संचार गृह ;
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।


ताजा खबर