‘देशभर तत्काल लकडाउन हुँदैन’ : सञ्चार मन्त्री खतिवडा

जोखिम नरहेका क्षेत्रमा खुकुलो गर्दै जाने र र जोखिमयुक्त क्षेत्रहरूमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले समेत आवश्यक निर्णय लिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै सञ्चार मन्त्री डा. खतिवडाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन भने सबैमा आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता डा.युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताउनुभएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को गत सोमबारको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री डा.खतिवडाले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको तर जोखिमयुक्त क्षेत्रहरूमा सिल गर्न सकिने र केही त्यस्ता ठाउँहरूमा हाल भइरहेको पनि बताउनुभयो ।

उहाँले ठाउँ ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर तत्काल लकडाउन नहुने स्पष्ट पार्नभयो ।

जोखिम नरहेका क्षेत्रमा खुकुलो गर्दै जाने र र जोखिमयुक्त क्षेत्रहरूमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले समेत आवश्यक निर्णय लिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै सञ्चार मन्त्री डा. खतिवडाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन भने सबैमा आग्रह गर्नुभयो ।

भदौंं १ गतेदेखि सञ्चालनमा आउने भनिएको लामो दूरीका सार्वजनिक यातायात तथा हवाई उडान के हुने हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चार मन्त्री डा.खतिवडाले हालको अवस्था हेर्दा सञ्चालन गर्न सकिने अवस्था बनिनसकेका बताउनुभयो ।

सञ्चार मन्त्री डा.खतिवडाले सार्वजनिक यातायात तथा हवाई उडान सञ्चालनका विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठक तथा आगामी मन्त्रीपरिषद्को बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने बताउनुभयो । रासस


ताजा खबर