नेकपाका अध्यक्षद्वय आ-आफ्नै अडानमा : स्थायी कमिटी वा सचिवालय बैठकबारे सहमति हुन सकेन

पार्टीको विवाद अन्त्य गर्नेगरी जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । वार्तामा दुई अध्यक्ष आफ्नै अडानमा रहनुभएपछि आज पनि सहमति बन्न नसकेको वार्तामा सहभागी नेताले जानकारी दिनुभयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मङ्गलबार साँझ ५ बजेदेखि शुरु भएको बैठक साढे ६ बजेसम्म चलेको थियो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि सहभागी हुनुहुन्थ्यो । “प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक बोलाऔँ भन्नुभयो । हामीले जारी स्थायी कमिटी बैठक पहिले टुङ्ग्याऔँ भन्यौँ, यसैमा कुरा मिलेन” वार्तामा सहभागी एक नेताले भन्नुभयो । जारी स्थायी कमिटी बैठक टुङ्ग्याएर सचिवालय बैठकमा जाउँला भन्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष ओली तयार नभएको ती नेताले बताउनुभयो ।

स्थायी कमिटी बैठकको एजेण्डामा अझै छलफल हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि बैठक अवरुद्ध हुँदैआएको छ । असार १८ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा बोल्ने स्थायी कमिटीका सदस्यहरूले प्रधानमन्त्रीको राजीनामालाई प्रमुख विषय बनाएपछि बैठक एजेण्डामा प्रवेश गर्न नसकेको नेताहरूले बताउँदैआउनुभएको छ ।

सरकारको कामको समीक्षा, कोरोना समस्या र सामधानको उपाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तथा पार्टी एकता प्रक्रियालगायत बाँकी काम टुङ्ग्याउने बारेका प्रमुख एजेण्डा तय गरिएको भएपनि स्थायी कमिटीमा यी विषय प्रवेश पाउन सकेका छैनन् । सो विषयमा केन्द्रित भएर छलफल गर्न चाँडै स्थायी कमिटी बैठक सुरु गर्नुपर्ने प्रस्ताव आज अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग गर्नुभएको बुझिएको छ । ‘तर प्रधानमन्त्री ओलीले सचिवालय बैठक राखेर त्यसमाथि छलफल गरौँ भनेर प्रस्ताव राख्नुभएपछि अध्यक्ष प्रचण्ड तयार हुनुभएन’ बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

नागरिक लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा पनि अध्यक्ष प्रचण्डले कडा आपत्ती जनाउनुभयो । बैठकमा सहभागी नेताले भन्नुभयो, “नियुक्ति गर्नुअघि पार्टीमा परामर्श गर्नुपर्थ्याे, तर प्रधानमन्त्रीले परामर्श नगरी नियुक्ति गर्नुभयो । यसमा हाम्रो कडा आपत्ती रह्यो ।” बुधबार साँझ ५ बजे पुनः वार्ता बस्ने गरी सकिएको वार्तामा सहभागी नेताले बताउनुभयो । वार्ताअघि अध्यक्ष प्रचण्ड भैँसेपाटी गएर पार्टी उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गर्नुभएको थियो ।

साउन १३ गतेको बैठकमा उपाध्यक्ष गौतमले सहमतिको छ बँदे प्रस्ताव गर्नुभएको थियो । सोही विषयमा केन्द्रित भएर छलफल भएको नेता गौतमको सचिवालयले जानकारी गराएको छ । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । छलफल सकारात्मक भएको र पार्टी एकतालाई कुनै पनि हालतमा जोगाउनुपर्ने सुझाव गौतमले अध्यक्ष प्रचण्डलाई दिनुभएको थियो ।


ताजा खबर