स्वास्थ्य सुरक्षा पालना गरी आजबाट होटलहरु खुल्दै

कोभिड–१९ महामारीको जोखिम न्यूनीकरण गर्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषण गरेपछि चार महीना ठप्प देशैभरका होटल आजदेखि खुल्ने भएका छन्। तर, होटलमा पाहुना भने छैनन्।

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार स्वास्थ्य सम्बन्धी आवश्यक सुरक्षा मापदण्ड पालना गरेर अधिकांश होटल खोल्ने निर्णय गरिएको हो। अहिले होटलमा पाहुना नआए पनि सकारात्मक सन्देश  जाने भएकाले खोल्ने निर्णय गरिएको उनी बताउँछन्।

हानका अनुसार, सरकारले आवश्यक सतर्कता अपनाएर होटल खुला गर्न अनुमति दिएको छ। अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नेछन्। रेस्टुरेन्ट सेवा पनि खोलिनेछ।

धेरैजसो होटल सरसफाइ गर्ने, पाहुना आइहाल्छन कि भनेर आशिंक रुपमा खोल्ने बाहेक कुनै उपलब्धि नहुने हानका उपाध्यक्ष शाह बताउँछन्। बन्दाबन्दी हटाएको भए पनि हवाई तथा लामो दूरीको यातायात र सभा–सम्मेलनसहितका ठूला जमघटमा प्रतिबन्ध जारी छ।

होटलका कर्मचारीलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने, न्यूनतम स्तर कायम गनुपर्ने, कर्मचारीलाई तालिम दिनुपर्ने जस्ता कारणले सञ्चालन खर्च बढ्छ। त्यसैले पर्यटक आगमन सुरु नभइ कुनै पनि होटल पूर्ण सञ्चालन संभव नभएको हानले जनाएको छ।

पाँचतारे होटल सांग्रिलाका कार्यकारी निर्देशक प्रवीण पाण्डे अहिले होटल नभएर रेस्टुरेन्ट मात्रै खुला गर्ने बताउँछन्। उनी भन्छन् “होटलको प्रमुख व्यापार नै रुम बिजनेश र व्यांङ्क्वेट सञ्चालन हो। ठूला होटलको ९० प्रतिशत व्यापारिक हिस्सा ओगटेको यी दुवै क्षेत्र नचल्ने अवस्थमा अरु १० प्रतिशतको लागि रेस्टुरेन्ट मात्रै सञ्चालन गरेर फाइदा हुँदैन।”

कोरानाभाइरस संक्रमणको त्रास झन बढ्न थालेको, पाहुनाको आगमन ठप्प भएको तथा आउने समय पनि निश्चित नभएको हुँदा व्यवसाय शून्य नै हुने पाण्डेको भनाइ छ। उनी भन्छन्, “होटल जति समय बन्द गर्यो उति नै धेरै मर्मत खर्च लाग्छ त्यसैले खुला गरेर गुणस्तरीयता कायम गरिरहनुपर्ने बाध्यता छ।”

बन्दाबन्दी सुरु हुनुअगाडि गएको ८ चैतदेखि नै बन्द भएको बौद्धस्थित अन्तर्राष्ट्रिय चेन होटल तारागाउँ रिजेन्सी (हयात) अझै नखुल्ने भएको छ। त्यतिवेला जोखिम बढेको भन्दै होटल व्यवस्थापनले सार्वजनिक सूचना जारी गरेरै एक महीनाका लागि बन्द भएको जनाएको थियो।

पर्यटकीय क्षेत्र ठमेलका पनि अधिकांश होटलले खुला गर्ने तयारी गरेका छन्। तर, पाहुना आउने अवस्था भने नभएको ठमेलस्थित होटल मम्स होमका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा बताउँछन्।

ठमेलमै अर्को होटल फ्रेन्ड्स होम पनि सञ्चालन गरिरहेका सापकोटा अब पर्यटन क्षेत्र बिस्तारै अगाडि बढ्दैछ भन्ने सन्देश दिनलाई मात्रै खुला गर्न लागिएको बताउँछन्। पर्यटकीय क्षेत्रका करीब ७० प्रतिशत होटल व्यवसाय भाडामा छन्। भाडा र मजदूरको तलबको चिन्ताले व्यवसायी होटल खोलेर बस्नलाई मात्रै पनि आतुर भएको सापकोटाको भनाइ छ।

ठूला होटल सबै नखुल्ने

हानका प्रथम उपाध्याक्ष शाह तत्कालै सबै ठूला होटल खुला नहुने बताउँछन्। “अहिले साना र मझौला होटल बढी खुल्छन् ठूला होटल खोल्न भने अझै समय लाग्ने देखिन्छ”, उनी भन्छन् ।

पाहुना नहुने र मजदूरलाई पनि काममा बोलाउन नसक्ने अवस्थाका कारण ठूला होटल तत्कालै खुला नहुने भएका हुन्। पर्यटक आउने थालेपछि ती होटल आफैं खुल्दै जाने हानले जनाएको छ।

बन्दाबन्दी सुरु हुनुअगाडि गएको ८ चैतदेखि नै बन्द भएको बौद्धस्थित अन्तर्राष्ट्रिय चेन होटल तारागाउँ रिजेन्सी (हयात) अझै नखुल्ने भएको छ। त्यति वेला जोखिम बढेको भन्दै होटल व्यवस्थापनले सार्वजनिक सूचना जारी गरेरै एक महीनाका लागि बन्द भएको जनाएको थियो।

सरकारले यूरोप, पश्चिम एशिया अन्तर्गत खाडी मुलुकहरू, टर्की, मलेसिया, दक्षिणकोरिया, जापानलगायत कोभिड–१९ प्रभावित मुलुकबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाउने सबै यात्रुलाई ७ चैतदेखि रोक लगाएपछि हायातले बन्द गर्ने निर्णय गरेको थियो। अब हवाई यातायात खुला भएर पर्यटक आउने अवस्था नभएसम्म खुला नहुने होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियार बताउँछन्।

मोफसलका होटल पनि आंशिक खुल्ने

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूरा गरेर मोफसलमा पनि आंशिक रुपमा होटल व्यवसाय खुल्ने भएका छन्। पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल पाहुना नआउने भए पनि व्यवसायलाई भने खुला राख्न लागिएको बताउँछन्।

पौडेलको पोखरास्थित बाराही होटल मर्मत भइरहेको छ । उनकै चितवनको बाराही जंगल र पोखराकै सराङकोट माउन्टेन लज भने खुला हुनेछन्। यी होटल सीमित कर्मचारी राखेर आंशिक रुपमा खुला गर्ने उनी बताउँछन्।

क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष तथा होटल रेनफरेष्टका सञ्चालक ज्ञानेन्द्र विष्ट होटल खोल्न व्यवसायी तयार भएर बसेको बताउँछन्। उनका अनुसार चितवनमा रहेका करीब १०० होटल १५ साउनदेखि नै खुला गरेर पाहुनाको सेवाका लागि तयार भएका छन्। पाहुन आउने टुंगो नभए पनि ५० प्रतिशतसम्म कर्मचारी राखेर आधा क्षमतासम्ममा होटल खुला गरिन थालिएको छ।

हिमालखबरबाट

ताजा खबर