चिनियाँ राष्ट्रपति सीले आज चाख्नेछन् नेपाली बारा, कुरीलो र क्वाँटी सुप

चिनियाँ राष्ट्रपति सी चिनफिङले आज रात्रीभोजमा नेपाली बारा तथा कुरिलो र क्वाँटी चाख्नेछन्। उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएको छ।

दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं ओर्लन लागेका चिनियाँ समकक्षी सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा रात्रिभोज (स्टेट बेन्क्वयट) आयोजना गरेकी छिन्।

सोल्टी होटलको व्यवस्थापन तहका एक अधिकारीका अनुसार शनिबार साँझ ७ः३० बजेदेखि सुरु हुने रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार विभाजन गरिएको छ।

राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहनेछ।

‘राष्ट्रपति सीलाई सबैभन्दा पहिला कुरिलो र क्वाँटीको नेपाली सुप सर्भ गरिने छ’, सोल्टीका ती अधिकारी भन्छन्, ‘त्यसपछि उहाँले बारासहितको नेपाली सलादको स्वाद चाख्नुहुनेछ।’

मेन कोर्षमा भने चिनियाँ र युरोपेली खाना खुवाइनेछ। चिनियाँ खाना सी भ्रमण टोलीमा रहेका सेफले नै बनाउनेछन् भने युरोपेली खाना सोल्टीका सेफले बनाउने छन्।

मेन कोर्षमा नेपाली खानाका कुनै पनि परिकार राखिएको छैन।

रात्रिभोजमा सी भ्रमण दलमा रहेका चिनियाँ उच्च अधिकारी, नेपालबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायी रहने छन्।

‘राष्ट्रपतिसँगको रात्रीभोजमा २५० जना सहभागी हुनेछन्, त्यसबाहेक अन्य १५० जनाका लागि समेत सोल्टीमा खानपिनको व्यवस्था गरिएको छ’, सोल्टीका ती अधिकारीले भने।

 


ताजा खबर