लकडाउनको अवधि बैशाख ३ गतेसम्मका लागि थपियो

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको अवधि आगामी वैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।

यसअघि चैत्र १६ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको थप गरेका लकडाउनको अवधि सकिनु एक दिनअघि आजको मन्त्रिपरिषद् बैठकले फेरि एक साताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन जारी राखेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले लकडाउनको समयावधि वैशाख ३ गतेसम्म बढाउने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा. खतिवडाले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि अन्तराष्ट्रिय नाका र सबै सीमाहरु पनि आगामी वैशाख ३ गतेसम्म बन्द गरिने बताउनुभयो ।

बैठकले कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा नरहनुभएका मन्त्रीहरुलाई पनि थप जिम्मेवारी तोक्ने क्रममा ७ जना मन्त्रीहरुलाई सातै प्रदेशमा खटिने गरी अनुगमन र सुपेरिवेक्षणका लागि तोकिएको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

मन्त्री डा. खतिवडाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नुपर्नेहरु बसे नबसेको हेर्ने काम गर्ने गरी स्थानीय स्वास्थ्य  स्वयंसेविकाहरुलाई प्रतिपटकको १५ सय रुपैयाँ सुविधा उपलब्ध गराउने गरी परिचालन गरिने जानकारी दिनुभयो ।

मन्त्री डा खतिवडाले सरकारी अस्पतालहरुमा आएर कोरोनाविरुद्धको अभियानमा काम गर्न चाहने निजी डाक्टरहरुलाई सरकारी डाक्टरहरु सरह सेवा सुविधा दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउने सरहको हुने र उहाँहरुको तह पनि त्यसैअनुसार मिलाइने मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न शत प्रतिशत भत्ता दिने निर्णय यसअघि नै गरिसकेको छ ।

त्यसैगरी, आजको मन्त्रीपरिषद्को वैठकले नेपाल राष्ट्र बैँकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । रासस


ताजा खबर