कोरोना परीक्षणको पहुँच विस्तार गर्न काँग्रेस जिल्ला सभापतिहरुको माग

 नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गर्नु भएको छ ।

नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुने गरी बढाउन माग गरिएको छ ।

काँग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

काँग्रेस जिल्ला सभापतिले पार्टीका देशभरका कार्यकर्तालाई कोरोनाबारे देशभर जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न समेत आग्रह गर्नुभएको छ ।

काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भारत–नेपालको सिमानामा अलपत्र परेका नेपाली र तेस्रो मुलुकमा रहेका सबैलाई नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।


ताजा खबर