नेपालमा छैटौं कोरोना संक्रमित भेटियो

नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।

अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त हुन् ।

दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नुभएको रहेछ । सँगै आएकी किशोरीमा संक्रमण देखिएपछि उहाँ पनि क्वारेन्टाइनमा बस्नुभएको थियो’ एक अधिकारीले भने ।

बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर, बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन ।

संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।

एउटै विमानबाट आएका तीन जनामा संक्रमण

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् ।

त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।

त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा पनि संक्रमण भएको पाइएको हो ।


ताजा खबर