ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक

ब्रिटेनले यसै महिनाको अन्त्यमा युरोपेली सङ्घ छाड्नेसम्बन्धी नयाँ प्रस्ताव सार्वजनिक गरिएको छ।

विवादित मानिएको एउटा मुद्दामा ब्रिटेनले उत्तरी आयरल्यान्डलाई युरोपेली एकल बजारकै हिस्सामा रहने गरी तर भन्सार युनियन त्याग्ने गरी प्रस्ताव गरिएको छ।

यसअघि प्रधानमन्त्री बोरिस जोनसनले आफूले ब्रेक्जिट सहमतिसम्बन्धी “रचनात्मक तथा यथोचित” प्रस्ताव ब्रसल्समा पठाएको बताएका थिए।

उनले त्यो प्रस्ताव स्वीकार्नुको विकल्प भनेको सहमतिविहीन ब्रेक्जिट मात्र हुने चेतावनी दिएका थिए।

आफ्नो पार्टी कन्जरभेटिभको एउटा सम्मेलनलाई सम्बोधन गर्दै उनले यूकेले युरोपेली सङ्घसँग नयाँ सम्बन्ध चाहेको बताए।

युरोपेली आयोगले प्रस्ताव अध्ययन गरेपछि केही समयमा प्रतिक्रिया दिने जनाएको छ।

म्यानचेस्टरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले आफ्नो पछिल्लो प्रस्तावले यूकेले गरेको सम्झौता दर्शाउने बताए।

साथै उनले यसलाई ईयूले बुझ्ने र त्यसैअनुरूप उसले पनि सम्झौता गर्ने आशा व्यक्त गरे।

युरोपेली आयोगले उक्त प्रस्तावलाई वस्तुपरक ढङ्गले परीक्षण गर्ने बताएको छ। यूकेले ३१ अक्टोबरमा ईयू छाड्दैछ।

ब्रिटिश सरकारले यो मितिभन्दा ढिलो ब्रेक्जिट हुने गरी कुराकानी नगर्ने बताउँदै आएको छ।

त्यसैले प्रधानमन्त्री जोनसनले आफ्नो पछिल्लो प्रस्तावको विकल्प भनेको सहमतिविहीन ब्रेक्जिट हुने बताएका छन्।

तर गत महिना ब्रिटिश संसद्‌ले पारित गरेको कानुन अनुसार अक्टोबर १९ अघि नै सांसदहरूले बहिर्गमनका शर्त स्वीकार नगरेको खण्डमा उनले ब्रेक्जिटको मिति लम्ब्याउन अनुरोध गर्नुपर्नेछ।

पत्र

आफ्नो सम्बोधनको क्रममा जोनसनले सहमतिविहीन ब्रेक्जिट सरकारको चाहना नभएको तर त्यसो हुन पुग्यो भने पनि सरकार तयारै रहेको बताए।

बीबीसीका नरम्यान स्मिथ भन्छन्, यो सम्बोधन अलि आश्चर्यजनक रह्यो किनभने अरूबेला जस्तो प्रधानमन्त्री जोनसन आक्रामक सुनिएनन्।

उनका अनुसार जोनसनलाई लागेको हुनुपर्छ कि आगामी केही घण्टा तथा दिनलाई उनको प्रधानमन्त्री पदको भविष्यका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोता भनेको म्यानचेस्टरमा होइन कि ईयूका देशका राजधानीहरूमा रहेका छन्।

युरोपेली आयोगका अध्यक्ष जाँ क्लड यङ्करले बुधवार नै प्रधानमन्त्री जोनसनसँग फोनवार्ता गर्ने बताइएको छ।


ताजा खबर