नेकपा सचिवालय समावेशी दिशामा : बैठक शनिवार सकिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौंथो बैठकको पाँचौं दिन सम्पूर्ण स्थायी सदस्यहरुले अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा धारणा राख्ने क्रम सकिएको छ ।

प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि प्रस्तुत धारणा, सुझाव र दृष्टिकोणलाई मध्यनजर गरी पार्टी अध्यक्षद्वयले परामर्श गरी निर्णयको तयारीका निम्ति शुक्रबार एक दिन बैठक स्थगित गर्दै पुस ५ गते बिहान ११ बजे धुम्बाराहीमा बस्ने तय गरिएको छ ।

बिहीबार पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा किरण गुरुङ, चक्रपाणी खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, माधवकुमार नेपाल र झलनाथ खनालसहित दशजनाले आ–आफ्ना धारणा राख्नुभयो ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भए अनुसार पार्टीलाई कमिकमजोरीबाट मुक्त गर्दै व्यवस्थित गर्ने, संगठनलाई एकताबद्ध र सुदृढीकरण गर्ने, विचार, आचरण र व्यवहारमा सुधार गर्नेजस्ता विषयहरुमा आ–आफ्नो कोणबाट विचार, धारणा र आलोचना राख्नुभएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । महासचिव विष्णुप्रसाद पौडेलले पुस ५ गते अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नुहुनेछ ।

बैठकपछि पार्टी स्थायी कमिटी सदस्य पम्फा भुसालले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपमा उठेका विषयवस्तुलाई समेटेर दुई अध्यक्षले मूर्त रुपमा राजनीतिक प्रतिवेदन ल्याउनुहुने जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टीको सचिवालय पहिलोपटक समावेशी हुने दिशामा रहेको छ । ४५ जनाको स्थायी कमिटीमा रहनुभएका दुईजना महिलालाई नौ सदस्यीय सचिवालयलाई बढाएर १५ सदस्यीय सचिवालय बनाउनको लागि स्थायी कमिटीले सम्पूर्ण सदस्यले मत राख्नुभएकाले अध्यक्षद्वयले समावेशी बनाउनुहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एकतिहाईको सचिवालय बनाउन सकिने प्रावधान पार्टी संरचनामा रहेकाले ४५ सदस्यीय स्थायी कमिटीको एकतिहाई १५ हुन आउँदा समावेशीतालाई पार्टीले पालना गर्नुपर्ने धारणा आफूहरुले बैठकमा राखेको उहाँले बताउनुभयो । नेतृ भुसाल माओवादी पार्टी रहँदा पार्टी प्रवत्ता भइसक्नुभएको छ भने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पूर्व नेकपा (एमाले)मा उपाध्यक्ष भइसक्नुभएको छ । – रासस


ताजा खबर