सिन्धुली जिल्लामा १ हजार ४ सय १ जाना शिक्षक अभाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनर्वितरणको तथ्याङ्को आधारमा जिल्लामा कुल १ हजार ४ सय १ जना शिक्षक अभावक देखिएको छ । जिल्लाका कमलामाई र सुनेकोशी गाउँपालिकामा केहि प्राथमिक शिक्षक तथा घ्याङलेख गाउँपालिकामा दश जोड दुईका ८ जना शिक्षक दरबन्दी बढि भएपनि अधिकांश स्थानीय तहमा शिक्षकको अभाव देखिएको छ ।

पुनःवितरित दरबन्दी अनुसार जिल्लाको कमलामाई नगरपालिकामा ५५ जना र सुनकोशी गाउँपालिकामा २९ जना प्राथमिक शिक्षक विद्यार्थी संख्या भन्दा बढि छन् उनिहरुलाई अन्य स्थानीय तहमा सरुवा गरिने छ । त्यस्तै घ्याङ्लेख गाउँपालिकामा ८ जना दश जोड दुई (मावि) तहका शिक्षक दरबन्दी बढि छन । जिल्लाको कमलामाई र सुनकोशीलाई छाडेर बाँकी सात वटा स्थानीय तहमा ४५० जना प्राथमिक शिक्षक दरबन्दी नपुग छन् । जसमा गोलन्जोरमा ९ जना, दुधौलीमा १५६ जना, तिनपाटनमा ६४ जना, फिक्क्ल मा ७३ जना, मरिणमा ९५ जना, हरिहरपुरगढीमा ४९ जना र घ्याङलेखमा ४ जना प्राथमिक शिक्षक नपुग छन् । यसमा कमलामाईबाट बढि भएका ५५ र सुनकोशीबाट बढि भएका २९ गरि ८४ जना आन्तरिक रुपमै पूर्ति गर्दा पनि अझै ३६६ जना प्राथमिक शिक्षक अन्य जिल्ला बाट सरुवा गरि ल्याउने अथवा नयाँ भर्ना प्रक्रिया बाट पूर्ति गर्नुपर्ने हुन्छ ।

त्यस्तै निम्न माध्यमिक तहमा जिल्लाका सबै ९ वटै स्थानीय तहमा गरेर ५३७ जना शिक्षक अभाव छ । जसमा गोलन्जोरमा २६ जना, कमलामाईमा ७० जना, दुधौलीमा १२५ जना, तिनपाटनमा ९८ जना, फिक्कलमा ५८ जना, मरिणमा ५९ जना, हरिहरपुरगढीमा ४८ जना, घ्याङलेखमा १५ जना र सुनकोशीमा ३८ जना निमावि शिक्षक अभाव रहेको छ । त्यस्तै माध्यमिक तहमा ४३४ जना शिक्षक कमि छ जसमा गोलन्जोरमा २६ जना, कमलामाई मा ५८ जना, दुधौलीमा १०० जना, तिनपाटनमा ८९ जना, फिक्कलमा ४८ जना, मरिणमा ४७ जना, हरिहरपुरगढीमा ३८ जना, घ्याङलेखमा १० जना र सुनकोशीमा १८ जना मा.वि शिक्षक अभाव छ । साविक उच्च मावि जोड दुई कक्षाका लागि ७२ जना शिक्षक दरबन्दी नपुग छन् । जसमा गोलन्जोरमा १२ जना, कमलामाईमा १३ जना, दुधौलीमा १५ जना, तिनपाटनमा ४ जना, फिक्कलमा ७ जना, मरिणमा २ जना, हरिहरपुरगढीमा ५ जना, र सुनकोशीमा १४ जना दशजोड दुई का शिक्षकहरु अभाव छन् । यसमा घ्याङलेखमा बढि भएका ८ जना अन्यत्र पूर्ति गर्दा अझै ६४ जना शिक्षक नपुग हुन्छन् । घ्याङलेख गाउँपालिकामा हाल १७ जना जोड दुईका शिक्षक दरबन्दी कायम भएपनि ९ जनाको मात्र कोटा कायम भएकाले त्यहाँबाट ८ जना जिल्लाका अन्य पालिका जानु पर्ने हुन्छ ।

यसरी जिल्ला भरिमा सबै तहमा गरेर कुल १ हजार ४ सय १ जना शिक्षक अभाव रहेको छ । यति ठूलो शिक्षक अभावका विच पनि विद्यालयहरुले आन्तरिक व्यवस्थापन गरेर शिक्षा प्रदान गरिरहेका छन् । सरकारी विद्यालयको शिक्षाको गुणस्तरको बारेमा चर्चा भईरहदा यसरी ठूलो संख्यामा शिक्षक दरबन्दी अभाव रहेको विषय भने मौन हुने गरेको पाईन्छ ।

विद्यालयहरुले यो शिक्षक दरबन्दी पूर्ति गर्न निजि स्रोतमा समेत शिक्षक भर्ना गरेका छन् भने निबृत्त शिक्षकको ठाउँमा व्यवस्थापन समितिले निर्णय गरेर लियन दरबन्दीको पैसामा शिक्षक भर्ना गरेर पठनपाठन सञ्चालन गर्ने गरेको पाइन्छ । सरकारी शिक्षा लाई प्रतिस्पर्धि र गुणस्तरीय बनाउन सबैभन्दा पहिला दरबन्दी व्यवस्थापन गर्नु पर्ने देखिन्छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा राजधानी तथा शहरी क्षेत्रमा शिक्षक दरबन्दी भन्दा बढि भएको पाईन्छ । सिन्धुली जिल्लामै सदरमुकाम क्षेत्रमा दरबन्दी भन्दा बढि प्राथमिक शिक्षकको कार्यरत रहेका छन् । बढि दरबन्दीलाई गाउँ पठाउनु महत्वपूर्ण चुनौति रहेको छ ।

सफल नेपाल / वाइ पी विनय, सिन्धुली


ताजा खबर