नेकपा स्थायी कमिटी बैठकः प्रतिवेदनमाथि छलफल जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी को आजको बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको विधान संशोधन लगायतका विषयमा छलफल जारी रह्यो ।

पार्टीे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेखित सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने र आगामी कार्ययोजना लगायतका विषयमा १२ जना स्थायी कमिटी सदस्यले आ –आफ्नो विचार राख्नुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या लगायतका विषयमा सदस्यहरुले आ आफ्नो धारणा राख्नुभएको र  केही सुझाव समेत दिनुभएको बताउनुभयो ।

बैठकमा स्थायी कमिटी सदस्यहरूले संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टीभित्रको गुटबन्दी निरूत्साहित गनुृपर्र्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव राख्नुभएको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टीलाई अझै क्रान्तिकारी र एक ढिक्का बनाएर अघि बढाउन पनि आवाज उठेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

२०७७ सालभित्र राष्ट्रिय महाधिवेशन गर्ने गरी अघि बढ्न पनि बैठकमा सुझाव आएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देव गुरूङ, पम्फा भुसाल र देबेन्द्र पौडेलले आ आफ्ना धारणा राख्नुभएको थियो ।

स्थायी कमिटी बैठक भोली बिहान ११ बजे फेरि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।


ताजा खबर