नयाँ शैक्षिक सत्रबाट कक्षा १-३ सम्म एकै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने

कक्षा १-३ मा अध्यापन गरिरहेका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ। हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन्।

आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदै छ। सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने छ ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै थपे, ‘एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन्।

‘आगामी वर्षबाट कक्षा १–३ मा नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ। चालू शैक्षिक सत्रमा कक्षा १-३ मा नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गर्ने गरिएको छ।

प्राथमिक तहमा साविकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षक अधिक छन्। नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ। पुराना शिक्षकले नेपाली, अंग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ।

सरस्वती निकेतन मावि, ब्रह्मटोलका प्रधानाध्यापक रविना महर्जनले एकीकृत पाठ्यक्रमको अवधारणा निकै राम्रो भए पनि एउटै शिक्षकले अध्यापन गर्दा चाहेजस्तो सिकाइ कक्षाकोठाभित्र प्रवेश गर्न नसक्ने सम्भावना रहने बताए।

रासस


ताजा खबर