आइओएम डिनमाथि दुर्व्यवहार गर्ने अभियुक्त २ हप्तासम्म प्रहरीको हात लागेनन्, प्रहरी भन्छन्–नतिजाको नजिक छौँ

चिकित्साशिक्षा अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई झुक्याएर कार्यकक्षमै प्रवेश गरी अमानवीय दुरव्यवहार गर्ने अभियुक्तलाई २ हप्ता वित्तिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । अनुसन्धानको क्रम जारी रहेको र घटनाको नजिक पुगेको महारागन्ज प्रहरी वृतका डिसपी उमेश लम्साल बताउँछन् । नतिजाको नजिकमा पुगेका छौ, डिसपी लम्साल भन्छन्,‘ केही समय मै अभियुक्तलाई सार्वजानिक गछौँ र कानुनी कठधारामा उभ्याउछौँ ।’

२९ भाद्र मा पत्रकार हुँ भन्दै अन्तर्वार्ताका लागि दिउँसो २ बजेको समय लिएर डिनको कार्यकक्षमा प्रवेश गरेका एक युवाले केहीबेर कुरा गरेर डा. अग्रवालमाथि कालो मसी छर्किएर भागेका थिए । घटनाको भएको केहीबेरमा नै प्रहरी पुगेर सिसिटिभी फुटेज निकालेपनि हालसम्म प्रहरीले अभियुक्तलाई समाउन सकेको छैन । डा. गोविन्द केसीको अनसन र मागअनुसार वरिष्ठताका आधारमा डिन भएदेखि नै डा. अग्रवालप्रति सत्तारुढ नेकपानिकट प्राध्यापक,विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा क्याम्पस महाराजगन्ज समेत असहिष्णु र आक्रामक बन्दै आएको छ । यस घटनामा स्ववियुनिटक विद्यार्थीकै संरक्षण र संलग्नतामा भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय उपचार तथा अन्य प्रशासनिक विषयलाई लिएर चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य प्रशासक तथा स्वास्थ्यसंस्थामाथि आक्रमण गर्ने प्रवित्ति मौलाइरहेको छ । देशभरि नै एकपछि अर्को स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेका छन् । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा मौलाइरहेको यसकिसिमको विकृतिले स्वास्थ्य सेवाप्रवाहमै समस्या उत्पन्न गर्ने देखिएपछि नेपाल चिकित्सक संघले लामो समयदेखि ‘जेल विदाउट बेल’को कानुनी प्रबन्ध गर्न माग गर्दै आएको छ । यो प्रावधानले कानुनी रूप लिएमा स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामाथि आक्रमण गर्नेलाई विनाधरौटी जेलचलान गर्न सकिनेछ । यसले आक्रमणका घटनालाई निरुत्साहित गर्न ठूलो भूमिका खेल्ने चिकित्सक संघको विश्वास छ ।

शेरबहादुर देउवा सरकारका पालामा स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन तथा नियमावलीमा संशोधनमार्फत विनाधरौटी जेलचलानको प्रावधान समेट्ने सहमति चिकित्सक संघ र सरकारबीच भएको थियो । सम्झौतासँगै कानुन मन्त्रालयबाट ऐन संशोधनको प्रस्ताव पारित भइसकेर प्रक्रिया अघि बढाइए पनि हाल उक्त प्रस्ताव मन्त्रिपरिषद्मा अड्किएर बसेको संघका महासचिव डा. लोचन कार्की बताउँछन् । चिकित्सक संघले डा. अग्रवालको घटनामा पनि दोषीलाई विनाधरौटी जेलचलानको माग गरिसकेको छ ।

 


ताजा खबर