रुकुम पूर्वमा नवजात शिशुसहित सुत्केरीको मृत्यु

 रुकुम पूर्वमा नवजात शिशुसहित सुत्केरीको मृत्यु भएको छ ।

सुत्केरी व्यथा लागे पनि समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसक्दा सिस्ने गाउँपालिका–१ भट्टेचौर रुकुम पूर्वकी २५ वर्षीया सपना बुढा र उनको नवजात शिशुको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

शुक्रबार बिहानदेखि सुत्केरी व्यथाले च्यापेपछि बुढालाई स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइएको तर त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान मात्रै हेलिकोप्टर मार्फत सुर्खेत लगिएको थियो । तर ढिलो गरी अस्पताल पुर्‍याउँदा आमा र बच्चा दुवैको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । यसअघि तीन सन्तानलाई जन्म दिएकी सपनाको यसअघिको सन्तानको पनि प्रसूतिकै क्रममा ज्यान गएको सिस्ने स्वास्थ्य चौकीका प्रमुख अहेव काशीराम ओलीले बताउनुभयो ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाका रुपमा रहेको रुकुम पूर्वमा अहिले पनि धेरै ठाउँमा सडक पुगेको छैन भने पुगेको ठाउँमा पनि वर्षाका कारण सडक बिग्रिदा सवारी साधन जानसक्ने अवस्था छैन । रासस


ताजा खबर