अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न आग्रह

प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चार माध्यम एवं सञ्चार माध्यमको झल्को दिने गरी भ्रम फैलाउने सामाजिक सञ्जाल (युट्युब/फेसबुक लगायत)बाट दुष्प्रचार भएको बताएको हो ।

काउन्सिलले यथेष्ट प्रमाणबिना र अपुष्ट स्रोत/बयानको हवाला दिई घटनासँग असम्बन्धित व्यक्ति, सङ्घसंस्था, राजनीतिक दल र नेताको चरित्र हत्या एवं मानहानी हुने गरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “समाजमा भ्रम/अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य, तथ्य एवं सन्तुलन विमुख भई सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यता विपरीत कार्य हो”, काउन्सिलका उप प्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यता विपरीत र आचार संहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न/नगराउन भनिएको छ । पेसागत आचरण विपरीत, आधार प्रमाण पुष्टि नहुने, अनुसन्धान/छानबिन लगायत समग्र न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने गरी सम्प्रेषित सामग्रीले पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(३), ४(६) र ५(११) उल्लङ्घन हुन्छ ।

काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबारे नियमित अनुगमनका साथै प्राप्त उजुरी र जनगुनासाको सुनुवाइ गर्दै आएको छ । रासस


ताजा खबर