धूमपान गर्न नेपालीले मासिक १ हजार ५० रूपैयाँ खर्च गर्छन् : नेपाल स्वास्थ्य अनुसन्धान परिषद

नेपालमा कलिलै उमेरमा धूमपान तथा मद्यपान गर्ने प्रवृत्तिका कारण नसर्ने रोगको प्रकोप डरलाग्दो बन्दै गएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले युवाअवस्थामा धूमपान गर्ने तथा खैनी एवम् गुट्खा सेवान गर्नेको संख्या दिनप्रतिदिन बढ्दै अएको देखाएको छ ।

१५ देखि ६९ वर्ष उमेर समूहका वयस्कको जनसंख्यामा आधारित सर्वेक्षणमा खराब आहार–विहारकै कारण स्वास्थ्य जोखिम बढेको पाइएको छ ।

नेपालमा धूमपान गर्ने एक मानिसले मासिक औसत १ हजार ५० रूपैयाँ चुरोटमा खर्च गर्दै आएको अनुसन्धानले देखाएको छ । यस हिसाबले औसतमा एक व्यक्तिले वार्षिक चुरोटका लागि साढे १२ हजार खर्च गर्ने गरेका छन् । आफूले पसिना बगाएर कमाएको रकम आफ्नै जिन्दगी जलाउनका लागि प्रयोग भइरहेको छ । नेपालीले अर्बौं रूपैयाँ धुवाँमा उँडाइरेको अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार पहिलोपटक धूमपान गर्ने नेपालीले औसत १८ वर्षको उमेरमा सुरु गर्ने गरेको पाइएको छ ।प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिमवासीले धूमपान गर्ने गरेको पाइएको छ । सुदूरपश्चिमका एकचौथाइभन्दा बढी अर्थात् २६.६ प्रतिशत जनताले धूमपान गर्ने गरेको अध्ययनले देखिएको छ । त्यसैगरी, कर्णाली प्रदेशमा २०.६ प्रतिशत, गण्डकी प्रदेशमा १८.६ प्रतिशत, प्रदेश ३ मा १८.२ प्रतिशत, प्रदेश ५ मा १७.३ प्रतिशत र प्रदेश २ मा १३.८ प्रतिशत जनताले धूमपान गर्दै आएका छन् ।

प्रदेश १ धूमपानका दृष्टिले सबैभन्दा कम प्रभावित भएको पाइएको छ । प्रदेश १ मा १०.३ प्रतिशत जनताले धूमपान गर्दै आएको परिषद्को अध्ययनले देखाएको छ । धूमपान अधिकांश नसर्ने रोगको प्रमुख कारण भएको विज्ञहरूले बताउँदै आएका छन् । धूमपान र बढ्दो प्रदूषणका कारण क्यान्सर, उच्च रक्तचाप, मुटुरोग, सिओपिडी दमलगायत रोगले भयावह रूप लिइरहेका छन् ।

रासस


ताजा खबर