नेपालमै पहिलो पटक बिना अप्रेशन मृगौलाको ट्युमरको उपचार : ॐ अस्पतालमा डा.अजित थापाले गरे माइक्रोवेभ एब्लेशन

काठमाडौंको चाबहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक बिना अप्रेशन मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ।

ॐ अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.अजित थापाले आइसियु तथा एनेस्थेसिया विभागका डाक्टरसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गरेका हुन्।

उनको दाहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटरभन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा ॐ अस्पतालका युरोलोजी विभागका प्रमुख प्रा.डा.भोलाराज जोशीको टिम संलग्न रहेको थियो।

प्रा.डा.भोलाराज जोशीले यस किसिमको प्रोसिडियोर स्लो ग्रोइङ ट्युमरहरूका लागि र निकै साना साइजका ट्युमरहरूको उपचारका लागि अत्यन्त प्रभावकारी रहेको बताए।

एब्लेशन भनेको शरीरको भित्री अङ्गहरूको ट्युमरका तन्तुहरूलाई तातोले डामेर बा चिस्याएर मार्ने प्रोसिडियोर हो। यो प्रोसिडियोर उमेरका कारणले मुटुको समस्याका कारणले लगायतका विविध कारणले अप्रेशन गर्न नमिल्ने अवस्थाका बिरामीहरूको उपचारको विकल्पको रूपमा गर्ने गरिन्छ।

एब्लेशन ट्युमरको साइज निश्चित सीमाभित्र रहेको अवस्थामा मात्र गर्न सकिने डा. थापाको भनाइ छ। विभिन्न कारणले सर्जरी गर्न नमिल्ने अवस्थाका बिरामीहरूको उपचारका लागि विकल्पका रूपमा प्रयोग गरिने यस प्रोसिडियोरमा अल्ट्रासाउण्ड र सिटी स्क्यानका लाइभ तस्वीरहरू हेर्दै, प्रोब (बिशेष किसिमको सुई) को माध्यमबाट एब्लेशन मेसिनको विशेष यन्त्रलाई ट्युमरसम्म पुर्याएर ट्युमरका तन्तुहरूलाई डामेर बा चिस्याएर मार्ने गरिन्छ।

एब्लेशन विशेष गरी कलेजो तथा फोक्सोको उपचारमा प्रयोग गरिने गरिँदै आएकोमा पछिल्लो समयमा मृगौला, फोक्सो, स्तन, पाठेघरका ट्युमरको उपचारकालागि समेत प्रयोग गरिन थालिएको छ। यो नयाँ अध्ययनहरूपछि आएको सफल विषय हो।

कलेजो तथा फोक्सोको ट्युमरको उपचारका लागि यस किसिमका एब्लेशन पहिले गरिसकिएको भए पनि मृगौलामा रहेको ट्युमरको उपचारका लागि भने नेपालमा पहिलोपटक ॐ अस्पतालमा यो प्रोसिडियोर गरिएको डा. अजित थापाको दाबी छ।

रासस


ताजा खबर