बुढ्यौलीसँगै हाड कमजोर हुँदै जाने समस्या : ओस्टियोपोरोसिस बाट कसरी बच्ने ?

डा. सरोज कृष्ण श्रेष्ठ

बरिष्ठ हाडजोर्नी बिशेषज्ञ- ॐ अस्पताल तथा रिसर्च सेन्टर चावहिल काठमाडौं 

ओस्टियोपोरोसिस जीर्ण हड्डीसम्बन्धी रोग हो । यो रोग त्यतिवेला लाग्छ, जब हड्डीहरू कमजोर हुन्छन् र लड्दा, हाच्छिउँ आउँदा वा अन्य सामान्य धक्काबाट पनि टुट्न सक्छन् ।

केही दिनअघि मात्र विश्व ओस्टियोपोरोसिस दिवस मनाइएको छ । प्रत्येक वर्ष २० अक्टोबरलाई विश्व ओस्टियोपोरोसिस दिवसका रूपमा मनाइँदै आएको छ । यो विशेष दिन ओस्टियोपोरोसिस तथा मेटाबोलिक बोन डिजिजको रोकथाम, लक्षण, निदान तथा उपचारबारे वैश्विक जागरुकता जगाउने कामका लागि समर्पित छ । यो दिवसको आयोजना इन्टरनेसनल ओस्टियोपोरोसिस फाउन्डेसन (आइओएफ) ले गरेको हो ।

ओस्टियोपोरोसिसको शाब्दिक अर्थ ‘छिद्रपूर्ण हड्डी’ हुन्छ । यो यस्तो रोग हो जसमा हड्डीको घनत्व र गुणवत्ता कम हुन्छ । जति–जति हड्डीहरू अधिक छिद्रपूर्ण र नाजुक हुँदै जान्छन्, त्यति नै फ्याक्चरको खतरा बढ्दै जान्छ । हड्डीमा क्षय वा नोक्सानी गुपचुप तरिकाले हुन्छ, जसको जानकारी हामीलाई हुँदैन । सामान्यतया फ्याक्चर हुने वेलासम्म यसको लक्षण देखिँदैन ।

विशेषज्ञ चिकित्सकका अनुसार सामान्यतया स्वस्थ हड्डी मौरीको चाकाजस्तो देखिन्छ । जब ओस्टियोपोरोसिस हुन्छ, तब हड्डीमा प्वाल तथा रिक्त स्थान स्वस्थ हड्डीको तुलनामा निकै ठूला हुन्छन् । ओस्टियोपोरोटिक हड्डीहरूले आफ्नो घनत्व वा द्रव्यमान गुमाउँछन् र असामान्य टिस्युहरूको संरचना बन्न पुग्छ । जब–जब हड्डीहरू कमजोर हुँदै जान्छन्, उनीहरूको टुट्ने सम्भावना अधिक हुन्छ ।

अस्टियोपोरोसिसमा हिप, मेरुदण्ड र नाडीको हड्डी टुट्ने सम्भावना सबैभन्दा बढी हुन्छ, यद्यपि शरीरका अन्य हड्डी पनि टुट्न सक्ने विशेषज्ञ चिकित्सक बताउँछन् । लगातार दुखाइ उत्पन्न गर्नुका अलावा ओस्टियोपोरोसिसका कारण केही रोगीको उचाइ कम हुन्छ वा उनीहरूको मेरुदण्डको हड्डी टेढो हुन थाल्छ । जब ओस्टियोपोरोसिसले मेरुदण्डका हड्डीहरूलाई प्रभावित बनाउँछ, यसले प्रायः कुप्रोपन (हन्च पोस्चर) तर्फ लैजान्छ । यसले गतिशीलतालाई समेत सीमित गर्न सक्छ ।
ओस्टियोपोरोसिसको औषधि, स्वस्थ आहार तथा वजन कम गर्ने व्यायामले हड्डीहरूलाई नोक्सान हुनबाट रोक्न सक्छन् र पहिलेदेखि नै कमजोर हड्डीहरूलाई मजबुत बनाउन सक्छन् ।

ओस्टियोपोरोसिसका सामान्य लक्षण यसप्रकार छन्–
– पिठमा दुखाइ,
– उचाइ (हाइट) कम हुनु,
– पोस्चरमा बदलाव आउनु,
– सजिलैसिट हड्डी भाँचिनु वा टुट्नु ।
जब सामान्य क्रियाकलाप, ठक्कर वा चोटबाट हड्डी टुट्छ भने त्यो ओस्टियोपोरोसिको संकेत हो ।

यहाँ ओस्टियोपोरोसिस हुने कारणबारे विस्तृत रूपमा बताइन्छ, जसको जानकारीबाट तपाईंलाई बचाउमा ठूलो मद्दत मिल्नेछ ।

ओस्टियोपोरोसिस वा हड्डी कमजोर हुने कारण
यस्ता मानिसमा ओस्टियोपोरोसिस हुने सम्भावना बढी हुन्छ–
१. क्याल्सियमको सेवन नगर्ने वा न्यून मात्र गर्ने
क्याल्सियमको कमीले आजीवन ओस्टियोपोरोसिसको विकासमा भूमिका निभाउँछ । क्याल्सियमको न्यून सेवनले हड्डीको घनत्वमा कमी ल्याउनुका साथै हड्डीलाई छिटो खराब हुन मद्दत गर्छ । यसले फ्याक्चरको खतरा बढाउँछ ।
२. भोजनमा कठोर प्रतिबन्ध गर्ने
खानपानमा कठोेरतापूर्वक प्रतिबन्ध लगाउने मानिसमा ओस्टियोपोरोसिसको सम्भावना बढी हुन्छ । यसका साथै न्यून वजन भएका पुरुष र महिला दुवैमा हड्डी कमजोर हुन जान्छ ।
३. ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी गरेका व्यक्ति
पेटको आकार घटाउन या क्याल्सियमसहित पोषकतत्त्वलाई अवशोषित गर्न उपलब्ध स्थानको आँतको आयतन हटउनका लागि सर्जरी गर्ने गरिन्छ । यो सर्जरीले वजन कम गर्न र अन्य ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डरमा मद्दत गर्छ । यसबाट ओस्टियोपोरोसिसको खतरा बढ्न जान्छ ।
४. स्टेरोयड र अन्य औषधिका प्रयोगकर्ता
लामो समयसम्म औषधिको सेवन गरेमा वा इन्जेक्सनमार्फत औषधि लिएमा त्यसले हड्डीको पुनर्निर्माण प्रक्रियामा अवरोध ल्याउँछ । ओस्टियोपोरोसिसको सामना गर्न वा त्यसलाई रोक्न उपयोग गरिने औषधिले पनि ओस्टियोपोरोसिस निम्त्याउन सक्छन् ।
५. विविध स्वास्थ्य समस्या भएका व्यक्ति

ओस्टियोपोरोसिसको खतरा त्यस्ता व्यक्तिमा बढी हुन्छ, जसमा केही स्वास्थ्य समस्या हुन्छ । निम्न रोग भएका व्यक्तिलाई ओस्टियोपोररोसिसको खतरा अधिक हुन्छ–
– सिलिएक रोग,
– इन्फ्लामेट्री बाउल डिजिज,
– मिर्गौला तथा कलेजोसम्बन्धी रोग,
– क्यान्सर,
– ल्युपस,
– मल्टिपल मायलोम,
– रुमेटाइड अर्थराइटिस,
– खराब जीवनशैली ।
केही खराब आदतले ओस्टियोपोरोसिसको जोखिम बढाउन सक्छन् । जस्तै,
१. गतिहीन जीवनशैली
जो व्यक्ति लामो समयसम्म एकै स्थानमा बसिरहन्छन्, उनीहरूमा ओस्टियोपोरोसिको खतरा अधिक हुन्छ । त्यसैले अधिक गतिशील हुनु जरुरी छ । वजन कम गर्ने व्यायाम तथा भागदौड गर्नुपर्ने कामले तपाईंको हड्डीलाई मजबुत राख्नुका साथै तपाईंको पोस्चर सही राख्न सहयोग गर्छन् । दैनिक वाकिङ, रनिङ, जम्पिङ, डान्सिङ तथा वेटलिफ्टिङ गर्नु उपयोगी हुन्छ ।
२. अत्यधिक मद्यपान
एक दिनमा २ पेगभन्दा बढी वा नियमित मद्यपान गर्नाले ओस्टियोपोरोसिसको खतरा बढ्न सक्छ । त्यसैले मद्यपानलाई सीमित गरेर सक्रिय जीवनशैली अपनाएमा ओस्टियोपोरोसिसबाट बच्न सकिन्छ ।
३. धूमपान तथा सुर्तीजन्यपदार्थको सेव
ओस्टियोपोरोसिसमा चुरोट तथा सुर्तीजन्य पदार्थको सटीक भूमिका स्पष्ट छैन, तर यसको नियमित सेवनले हड्डीलाई कमजोर बनाउनमा योगदान दिने तथ्य अनुसन्धानमा दाबी गरिएको छ ।

 


ताजा खबर