अबु बकर अल-बग्दादी: इस्लामिक स्टेटका प्रमुख मारिएपनि लडाइँ अझै बाँकी रहेको अमेरिकाका साझेदारहरूको प्रतिक्रिया

संयुक्त राज्य अमेरिकाका साझेदारहरूले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिए पनि सो समूहविरुद्धको लडाइँ नसकिएको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अल-बग्दादी मारिनु आईएसका लागि एउटा झट्का भए पनि त्यो एउटा कदम मात्रै भएको बताए।

उनले सो समूहको निर्णायक पराजयका लागि फ्रान्सले सहकार्य जारी राख्ने उल्लेख गरेका छन्।

ब्रिटेनले यो एउटा महत्त्वपूर्ण क्षण भए पनि आईएसको अन्त्य नभएको प्रतिक्रिया दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अल-बग्दादीले ‘रोइकराइ’ गरी मृत्युवरण गरेको बताएका थिए।

अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल-बग्दादीले एउटा ‘सुसाइड भेस्ट’ विस्फोट गराएका थिए।

राष्ट्रपति ट्रम्प

अल-बग्दादी मारिएपछि ट्रम्पले भने, “अल-बग्दादीलाई समात्नु अथवा मार्नु मेरो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको थियो। निकै कठिनाइ र मृत्यु निम्त्याएका एक क्रूर हत्यारा हिंसात्मक रूपमा निर्मूल पारिएका छन्।”

राष्ट्रपति ट्रम्पले अमेरिकी फौजको कारबाहीमा ठूलो सङ्ख्यामा अल-बग्दादीका अनुयायीहरू मारिएको र नियन्त्रणमा लिइएको बताएका छन्।

मारिनेहरूमा उनकी दुई श्रीमती पनि थिए। उनीहरूले विस्फोट हुने भेस्ट लगाएका थिए, तर त्यसलाई उनीहरूले विस्फोट गराएनन्।

कुर्दिश समूहको सहकार्य एवम्‌ जासुसीविना यो कारबाही सम्भव थिएन।

र, यसले यो क्षेत्रमा अमेरिकी उपस्थिति र कुर्दहरूसँगको निकट सम्बन्धको महत्त्व मात्रै दर्शाएको छैन, घरेलु रूपमा यसले त्यस्तै भूमिका खेल्नेछ।

जसरी जर्ज डब्ल्यू बुश पुनः निर्वाचित हुनुअघि इराकमा उनले भनेको अतिक्रमण पूरा भएको थियो र बाराक ओबामा पुनः निर्वाचित हुनुअघि ओसामा बिन लादेन मारिएका थिए।

अहिले आएर डोनल्ड ट्रम्प पुनः निर्वाचित हुनुअघि अल-बग्दादी मारिएका छन्।

र, ट्रम्पले आफ्ना पूर्ववर्तीहरूको हकमा भएजस्तै हुने अपेक्षा गरेका छन्।

इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर ‘क्यालिफेट’ परास्त भएको घोषणा गरेको थियो।

यसै महिनाको शुरूतिर उत्तर सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु एउटा ठूलो जित हो।

डेमोक्र्याटहरूले ट्रम्पमाथि महाभियोग लगाउने विषयमा छानबिन अघि बढाएका बेला पनि आएको यो खबर उनका लागि अर्थपूर्ण छ।

स्थानीय समय अनुसार आइतवार बिहान एउटा अस्वाभाविक वक्तव्य दिँदै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादी ‘चिच्याउँदै र रुदै मरेको’ बताएका छन्।

बीबीसी


ताजा खबर