क्यालिफोर्नियामा डढेलो: दशौँ लाख मानिस बिजुलीविहीन हुनसक्ने चेतावनी

अग्नि नियन्त्रकहरूले क्यालिफोर्नियाका जङ्गलमा सल्किएका आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिसहरू बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी दिइएको छ।

“ठूलो हावाहुरी” आउने पूर्वानुमानबीच प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकले क्यालिफोर्निया राज्यका ३६ वटा काउन्टीहरूमा विद्युत आपूर्ति बन्द गर्ने स्थिति आउन सक्ने बताएको छ।

त्यो हावाहुरीले विद्युतीय पूर्वाधारमा क्षति पुर्‍याउँन सक्ने र नयाँ स्थानमा आगलागी गराउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

तीव्र गतिको हावा-हुन्डरी चल्दै गर्दा विभिन्न वनमा आगो सल्किएपछि क्यालिफोर्नियाका करिब ५०,००० मानिसहरू घर छोडी सुरक्षित स्थानमा जान बाध्य भइसकेका छन्।

लस एन्जलस र सोनोमा काउन्टीमा आपत्‌काल घोषणा गरिसकिएको छ।

वन डढेलो

क्यालिफोर्नियाको अग्नि नियन्त्रण गर्ने निकायले त्यो राज्यमा अहिले “आगलागी हुने मौसमी अवस्था” उत्पन्न भएको बताएको छ।

गभर्नर ग्याभिन न्युसोमले विद्युत आपूर्ती गर्ने निकायले पर्याप्त काम गर्न नसकेको बताए।

उनले “वर्षौँ वर्षदेखिको लोभ लालच” र “वर्षौँ वर्षदेखिको अव्यवस्थाका कारण” पछिल्लो स्थिति उत्पन्न भएको भन्दै प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पीजी एन्ड ई) को कडा आलोचना गरेका छन्।

त्यो कम्पनीले सम्भाव्य खराब मौसमका कारण आफ्ना ८ लाख ५० हजार उपभोक्ता अन्तर्गतका करिब २० लाख सेवाग्राही शनिवारदेखि सोमबारसम्म बिजुली आपूर्ति बन्द हुने अवस्थाका लागि तयार रहन आग्रह गरेलगत्तै उसको आलोचना भएको हो।

एक वक्तव्यमा पीजी एन्ड ईले भनेको छ, “पीजी एन्ड ईले विनाशकारी हावा हुरी आउन सक्ने भएकोले केही घन्टासम्म बिजुली आपूर्ति बन्द गर्नु पर्न सक्छ।”

त्यो मौसमी अवस्था दशकौँपछिको खराब हुन सक्ने बताउँदै उसले ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्काहरू उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने बताएको छ।

त्यो कम्पनीका अनुसार उत्तरी क्यालिफोर्नियामा बुधवार सुरु भएको किनकेड डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो।

क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा घातक मानिएको डढेलो सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा लागेको थियो। पीजी एन्ड ईको प्रसारण लाइन त्यो आगलागीको कारक मानिएको छ।

बीबीसी संवाददाता पिटर बावेस लस एन्जलसको सान्ता क्लारिता नजिकै बस्छन् जहाँ टिक भन्ने स्थानमा वन डढेलो फैलिएको थियो।

उनले भने, “आगो सल्किएपछि म र मेरो परिवार हाम्रो कुकुर लिएर निकै छोटो समयमा आफ्नो कारमा भाग्न सफल भयौँ। निकै छोटो समयमा आगो जताततै फैलियो। हाम्रा छिमेकीले पनि भाग्न निकै थोरै समय पाए।”

बुधवार सुरु भएको किनकेड आगो सोनोमा काउन्टीमा झन्डै ९ हजार हेक्टर जमिनमा फैलिएको छ। त्यो क्यालिफोर्नियाका प्रख्यात वाइन उत्पादन गर्ने क्षेत्रहरू मध्येको एक हो।

त्यो आगो निभाउन १,३०० भन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन्। विमानहरूको समेत प्रयोग भइरहेको छ।

त्यस्तै आगो स्यान बर्नान्डिनो, स्यान म्याटेओ, लस एन्जेलस, म्यारिन र स्यान्डियागो काउन्टीमा पनि फैलिएका छन्।

सीमा पारी मेक्सिकोको बाजा क्यालिफोर्नियामा पनि डढेलो सल्किएको छ।

त्यहाँ तीन जनाको ज्यान गएको र १,००० मानिस घर छोडी सुरक्षित स्थानमा लगिएको अधिकारीहरूले बताएका छन्।

क्यालिफोर्निया युटिलिटिज कमिसनमा बिहीवार बुझाइएको प्रतिवेदन अनुसार बिजुलीका तारहरूलाई टावरमा जोड्ने एक “जम्पर” टुटेको अवस्थामा पाइएको थियो।

त्यसको केही मिनेटपछि आगो लाग्न थालेको वन तथा अग्नि सुरक्षा निकायले जनाएको छ।

किनकेड डढेलोका लागि पीजी एन्डलाई जिम्मेवार ठानिन सक्ने चिन्ताबीच उसको शेयरको मूल्य ओरालो लाग्न थालेको छ।

बीबीसी


ताजा खबर