नेकपा सचिवालय सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग शनिबार सामुहिक परामर्श गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको सचिवालयका पाँच सदस्यबीच भएकाे अनौपचारिक छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार विहान सामुहिक भेटघाट गरी परामर्श गर्ने तय भएकाे छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार साँझ बसेको सचिवालयका पाँच सदस्यकाे अनौपचारिक छलफलले सो निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । उहाँकाअनुसार अध्यक्ष प्रचण्डले छलफलमा अहिलेसम्म भएको भेटका विषयमा जानकारी गराउनुभएको थियो । नौ जना सदस्य रहेको सचिवालयमा अाज पाँच जनाको सहभागिता रहेको खनालले बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता खनालका अनुसार सामुहिक भेट शनिबार विहान ९ बजे तय भएको छ ।

पार्टीलाई जीवन्त बनाउन र सरकारको काम कारवाही समेत प्रभावकारी बनाउन पार्टीको नियमति बैठक अनिवार्य रहेको बताउनुहुँदै वरिष्ठ नेता खनालले पार्टी बैठकबारे भोलि प्रधानमन्त्रीसँग छलफल गिरने बताउनुभयाे । प्रधानमन्त्री ओलीसँगको छलफल पछि सचिवालयको औपचारिक बैठकको मिति तय हुने उहाँले जानकारी दिनुभयो ।

अनौपचकरिक छलफलमाअध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको सहभागिता थियो । सचिवालयका चार जना सदस्यहरुको सहभागिता थिएन । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिव विष्णुप्रसाद पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी हुनुभएन । –रासस


ताजा खबर