चिली प्रदर्शन: स्यानटियागोमा मेट्रो रेलको भाडा वृद्धिको विरोध

मेट्रो रेलको टिकटको मूल्य बढाइएको विरोधमा भएका प्रदर्शनहरू हिंसात्मक बनेपछि चिलीको राजधानी स्याटीएगोमा सङ्कटकाल घोषणा गरिएको छ।

प्रदर्शनकारीहरू धेरैजसो माध्यमिक तह र विश्वविद्यालयका विद्यार्थीहरू थिए।

प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका, आगो लगाइदिएका र ट्राफिक अवरुद्ध पारिदिएका थिए। जसका कारण ठूलो क्षति पुगेको र हजारौँ यात्रुहरूले सवारी साधन पाउन नसकेको बताइएको छ।

स्यानटियागो

टेलिभिजनमा प्रसारित दृष्यहरूमा प्रदर्शनकारीले ढुङ्गा हानेको, प्रहरी वाहनमा आक्रमण गरेको र कम्तीमा एउटा बस जलाइदिएको देखाइएको छ।

दङ्गा नियन्त्रक प्रहरीले कैयौँ दिनदेखि मूल्यवृद्धिको विरोध गर्दै आएका केही प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र लाठी प्रयोग गरेका थिए।

यो प्रदर्शनले देशमा रहेको गहिरो विभाजन बाहिर ल्याइदिएको ठानिएको छ।

स्यानटियागो

चिली ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भएपनि यहाँ धनी र गरिबबीच ठूलो असमानता रहेको छ।

खासगरि ६० लाख मानिस बसोबास गर्ने स्यानटियागोको महँगीबारे गुनासो बढ्दो थियो र आर्थिक सुधारको माग उठिरहेको थियो।

टेलिभिजनमा बोल्दै राष्ट्रपति सेबास्टियन पीनेराले सार्वजनिक र व्यक्तिगत सम्पत्ति सुरक्षा गर्न र कानुनको शासन कायम राख्न सङ्कटकाल लगाउनुपरेको बताए।

सङ्कटकाल लगाएपछि मानिसहरूको स्वतन्त्र आवागमन र भेला हुने अधिकार कटौती हुन सक्छन्।

उनले सरकारले भाडा बढेर मर्कामा परेकाहरूसँग वार्ताका लागि आह्वान गरिने बताए।

स्यानटियागो

यो महिनाको सुरुतिर सरकारले उच्च आवतजावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडा दर करिब १.१७ डलरले बढाएको थियो।

रेडियो एग्रीकल्चरसँग बोल्दै राष्ट्रपति पीनेराले भनेका थिए, “प्रदर्शन गर्नु एउटा कुरा हो तर तोडफोड गर्नु प्रदर्शन होइन अपराध हो।”

कति मानिसलाई गिरफ्तार गरिएको छ वा कति घाइते भएका छन् भन्ने सार्वजनिक भइसकेको छैन।

विरोध भएपनि अधिकारीहरूले भाडा बढाउने निर्णय फिर्ता नलिने बताएका छन्।

स्यानटियागो

शुक्रवारको विरोधपछि मेट्रोका अधिकारीहरूले सबै रेल लाइनहरू कम्तीमा दुई दिन बन्द रहने बताएका छन्।

मेट्रो रेल प्रणालीमा भएको तोडफोड मर्मत नगरी सुरक्षित रूपमा रेल चलाउन नसकिने अधिकारीहरूले बताएका छन्।

करिब सात लाख डलर बराबरको क्षति पुगेको बताइएको छ।

१४० किलोमिटर लम्बाइ भएको र १३६ वटा स्टेशन भएको स्यानटियागोको भूमिगत रेल प्रणाली ल्याटिन अमेरिकाको सबभन्दा आधुनिकमध्ये मानिन्थ्यो।


ताजा खबर