नेकपा सचिवालय बैठक भदौ १८ सम्मका लागि स्थगित

आज १३ भदौमा बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ। अर्को बैठक १८ भदौमा बोलाइएको छ।

शीर्ष नेताहरु नै आइसोलेसनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक स्थगित गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए। उनका अनुसार, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा आइसोलेसनमा छन्।

वरिष्ठ नेता नेपालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। गएको शुक्रबार नेता नेपालकाे सुरक्षार्थ खटिएका नौ सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको थियो।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा पनि आइसोलेसनमा बसेका छन्। एउटै बैठकमा सहभागी भएका कारण पोखरेल र थापा आइसोलेसनमा बसेका हुन्। उक्त बैठकमा सहभागीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि दुवै जना आइसोलेसनमा बसेका हुन्।

नेकपा विवाद समाधान सुझावको प्रस्ताव ल्याउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बोलाइएको थियो।

कार्यदलले ६ भदौमा प्रतिवेदन बुझाएको छ। २९ साउनमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न शनिबार सचिवालय बैठक बोलाइएको थियो।


ताजा खबर