निजामती सेवा दिवसमा सुरक्षित रहेर कार्यक्रम गर्न निर्देशन

सरकारले कोरोनाभाइरस महामारीको कारण यस वर्षको निजामती सेवा दिवसमा सुरक्षित रहेर सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। निजामती सेवा दिवस २२ भदौमा पर्छ।

निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को सङ्क्रमणको जोखिम बढ्दै गएकोले बन्दाबन्दीको नियम पालना र  स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर मात्र कार्यक्रम संचालन गर्न तीनै तहलाई निर्देशन दिएको हो। बैठकले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली घोषणा गर्नका लागि सबै सरकारी निकायमा कार्यरत कर्मचारीलाई समेटिने गरी सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा १५ दिनको सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।

निजामती सेवा ऐन जारी गरेको सम्झनामा २०६१ सालबाट हरेक वर्ष २२ भदौमा यो दिवस मनाउने गरिन्छ। बैठकले दिवसकै अवसरमा गोरखापत्र दैनिकमा निजामती सेवा विशेषाङ्क प्रकाशन गर्ने, आवश्यक श्रव्यदृश्य, पम्प्लेट आदि सन्देशमूलक सामाग्री तयारी गरी  प्रचारप्रसार गर्न तथा रेडियो नेपाल र नेपाल टेलिभिजनमा निजामती सेवा सम्बन्धी विषयमा छलफल कार्यक्रम सञ्चालन गर्न  सञ्चार मन्त्रालयलाई दिइने निर्णय गरेको छ।

यस्तै दिवसकै अवसरमा सो सेवाप्रतिको जनअपेक्षा विषयक खुला निबन्ध प्रतियोगिता आयोजना गर्ने, कर्मचारीको आधिकारिक ट्रेड  यूनियन लगायत सरोकारवाला संघसंस्थालाई स्वास्थ्यको मापदण्ड अवलम्बन गरी रचनात्मक कार्यक्रम गर्न अनुरोध समेत गरेको छ। बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय  निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति गठन गरेको छ। -रासस


ताजा खबर