दाँत र मुखको स्वास्थ्य : भ्रम र यथार्थ ।

डा. हरिश जोशी 

सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन, ॐ हस्पीटल एण्ड रिसर्च सेन्टर चावहिल काठमाडौं ।

मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । शरीरको मुख्यद्वारको रुपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ। मुखमा लाखौंको संख्यामा नर्मल फ्लोरा भनिने किटाणुहरु रहेका हुन्छन् । नर्मल फ्लोराले सामान्यतया केही हानी नगरेपनि हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका बखत यीनको संख्या अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसरी बढेका किटाणुहरुले हामीलाई विभिन्न रोगहरु लगाउन सक्छन् ।

खाना चपाउने र पाचन प्रकृयालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने भएकाले यसलाई स्वस्थ राख्नु जरुरी छ।

साथमा दाँतको समस्याको समयमै उपचार गराउँदा दुखाइबाट छुटकारा पाउनुका साथै मुखको दुर्गन्धवाट बचाउनुको साथै सुन्दरता समेत बढाउछ ।perfect teeth

तुलनात्मक रुपमा दाँतको उपचार महँगो देखिएपनि नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्ड लगायतका देशहरुमा भन्दा निकै सस्तो छ ।

अहिले दन्तचिकित्सा अत्यन्तै विकसित र सरल हुँदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाई नहोस् भनी लठ्याउने सुई (लोकल एनेस्थेसिया) र आवश्यकता अनुसार चाहिएको खण्डमा पूरै शरीर लठ्याउने (जनरल एनेस्थेसिया) मा राखेर सर्जरी गरिने भएकाले दुखाइको चिन्ता लिनु नपर्ने हुन्छ ।

हाम्रो समाजमा प्रायः मानिसहरु दाँत दुख्न थालेपछि मात्र उपचारकालागि अस्पताल आउने गरेका छन् । यसरी ढिला गरेर आउँदा समस्या जटिल भइसकेको हुन्छ । सचेत भएर बेला बेलामा दाँत तथा मुखको परिक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ। मुख तथा दाँतको थप जटिल समस्याहरु हुनबाट समेत जोगिन सकिन्छ ।

कम्तीमा तीन महिनाको अन्तरालमा नियमित रुपमा दन्त चिकित्सकलाई आफ्नो मुख तथा दाँत जँचाउनु र परामर्श अनुसार दाँत सफा गर्ने र उपचार गराउनु उपयुक्त हुन्छ ।

दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लिन्छ र सिरिंग हुने समस्या हुन्छ भन्ने भ्रम पनि समाजमा रहेको छ । दाँत सफा गर्दा अल्ट्रासोनिक स्केलर मेसिन प्रयोग गरिने भएकाले कम्पनको सहायतामा दाँतमा जमेका फोहोरलाई हटाइन्छ । त्यसैले डराउनु पर्ने हुँदैन यसले दाँतलाई कुनै हानी नोक्सानी गर्दैन । केही दिनका लागि सिरिंग अनुभव भएपनि आफै हटेर जान्छ । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन ।

हामीले खाएको खानेकुरा दाँतमा अड्किन्छ र त्यसलाई किटाणुहरुले खाएपछि निस्किएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सडाइदिने भएकाले हरेकपटक खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी छ ।

बच्चाहरुको दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खान चपाउन मद्दत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँ समेत निर्धारण गर्छ । अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झर्यो भने पछि आउने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा नमिलेर बाङ्गो टिङ्गो भएर आउने हुन्छ ।

दाँतका सबैखाले समस्याको उपचार नेपालमा नै सम्भव छ । ॐ अस्पतालमा पनि दक्ष तथा अनुभवि चिकित्सक र बिश्वस्तरिय उपकरणहरु सहितको डेन्टिस्ट्रि तथा डेन्टल सर्जरी बिभाग रहेकाले बिदेशका कुनैपनि अस्पतालमा उपलब्ध सेवा लिन सकिने अवस्था छ ।


ताजा खबर