सिरिया हमला: अमेरिकासँगको वार्तापछि टर्की ‘युद्धविराम’का लागि सहमत

उत्तरी सिरियामा कुर्द नेतृत्वको फौज पछाडि हट्न सक्नेगरी युद्धविराम गर्न टर्की सहमत भएको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।

अङ्करामा उपराष्ट्रपति पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफलहरू भएपछि यस्तो भनाइ बाहिर आएको हो।

सम्पूर्ण सैन्य कारबाहीहरू पाँच दिनको लागि रोकिएको छ र अमेरिकाले कुर्दहरूलाई व्यवस्थित ढङ्गबाट फिर्ता गर्न सघाउनेछ।

सीमा क्षेत्रमा टर्कीले ‘आफ्नो सुरक्षित क्षेत्र’ बनाउन चाहेको ठाउँबाट अमेरिकाले कुर्दहरूलाई हटाउनेछ।

टर्कीले युद्धविराम गर्ने कुरा उपराष्ट्रपति पेन्सले भन्दा पहिले राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्विटमार्फत बताएका थिए।

उनले लेखेका थिए: “दशौँ लाख जीवनहरूको रक्षा हुनेछ। ”

त्यसको केहीपछि उनले भनेका छन्: “यस्तो सम्झौता तीन दिनअघि कसैगरी हुन सक्दैनथ्यो। यसो हुनका लागि केही ‘चर्को’ प्रेमको खाँचो पर्‍यो। सबैलाई राम्रो भयो। सबैप्रति गर्व गर्छु।”

यसअघि टर्कीले हमला सुरु गरेकै दिन ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई लेखिएको एउटा पत्र सार्वजनिक भएको थियो।

जसमा ट्रम्पले उनलाई ‘कडा र मुर्ख व्यक्ति नहुन’ लेखेका थिए।

पेन्सले आफ्नो घोषणाको बेला त्यसको श्रेय डोनल्ड ट्रम्पको ‘बलियो नेतृत्व’लाई दिँदै राष्ट्रपतिले ‘युद्धविराम चाहेको र हिंसा रोक्न चाहेको’ बताएका थिए।

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले पत्रकारहरूसँग कुरा गर्दै एसडीएफले सीमा क्षेत्र छाडेपछि मात्र सैन्य हमला स्थायी रूपमा रोकिने बताए।

“हामीले कारबाही रोकेका हौँ, अन्त्य गरेका होइनौँ,” उनले भने।

“त्यस क्षेत्रबाट (कुर्द बल) पूर्ण रूपमा पछाडि हटेपछि मात्र हामीले हमला अन्त्य गर्नेछौँ।”

ट्रम्प र टर्की

चाभुसोग्लुले कुर्द नेतृत्वका लडाकुहरूका ठूला हतियारहरू र तिनका आधारहरू नष्ट पार्ने आफ्नो उद्देश्य सुरक्षित गरिएको बताए।

वासिङ्टन र अङ्कराबीचको वार्तामा एसडीएफको प्रतिनिधित्व थिएन।

बीबीसीकी बार्बरा प्लेट असर भन्छिन्: “धेरै विश्लेषकहरूले यस सम्झौतालाई एर्दोआनको जीतका रूपमा हेरेका छन्। किनकि यसले उनले खोजेका धेरैजसो कुरा पूरा गरिदिएको छ। खासगरी टर्किस सेनाले कुर्दहरूलाई हटाउँदै सुरक्षित क्षेत्रमा नियन्त्रण राख्ने कुराको मान्यता यसले दिएको छ।”

आक्रमण रोक्ने बताएसँगै राष्ट्रपति ट्रम्पले तीन दिनअघि टर्कीविरूद्ध लगाएका अमेरिकी प्रतिबन्धहरू हटाएका छन्।

तर अमेरिकी संसद्का दुई वरिष्ठ डेमोक्र्याटहरूले भने एउटा विज्ञप्तिमार्फत् त्यसलाई उनीहरूकै शब्दमा ‘झूटो युद्धविराम’ भनेका छन्।

प्रतिबन्ध हटाउने कुराले अमेरिकी विदेशी नीतिको विश्वसनीयतालाई कमजोर पारेको उनीहरूले बताएका छन्।

न्यान्सी पेलोसी र चक सुमरले ट्रकिस राष्ट्रपति एर्दोआनले केही पनि नत्यागेको बताएका छन्।

यसअघि पेन्सले टर्कीमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू आक्रमण पूरै रोकिएपछि फुकुवा गरिने र यसबीच थप प्रतिबन्धहरू नलगाउने बताएका थिए।

अमेरिकाले टर्कीको हमलाको सशक्त विरोध गर्दै दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो।

अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको थियो।

टर्कीले गतसाता उत्तरी सिरियामा आफ्नो सैन्य आक्रमण सुरु गरेको थियो।

पछिल्ला आठ दिनमा ७२ जना आम नागरिकहरू मारिनुका साथै तीन लाख विस्थापित भएका छन्।

कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ)को एउटा प्रमुख अङ्ग ‘कुर्द वाईपीजी’ले युद्धविरामलाई सदर गर्दै त्यसको सफलतालाई सघाउने बताएको छ।

तर सबैतिर युद्ध नरोकिएकाले कुर्दहरूको पूण प्रतिबद्धता भने स्पष्ट भएको छैन।

जिहादी समूह इस्लामिक स्टेट समूहविरुद्ध सङ्घर्षमा कुर्द नेतृत्वको एसडीएफले अमेरिकालाई सघाएको थियो।

आक्रमणको प्रतिकार गर्न सिरियाली कुर्दहरूलाई बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको थियो।

उनीहरूबीच भएको सहमतिलाई सिरियाका राष्ट्रपतिको आत्मबल बढाउने अवसरको रूपमा हेरिएको छ।

कुर्द लडाकु र सिरियाबीच सहमति भएपछि उत्तरी सिरियामा सन् २०१२ यता पहिलोपटक सरकारी सेना फर्किएको छ।

बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेन भन्छन्: “टर्कीले हमला थालेयताको पछिल्लो एक सातामा सिरियाको रणनीतिक नक्सा भने बदलिएको छ।”

अङ्करा के चाहन्छ?

टर्कीले कुर्द लडाकुहरूलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने “आतङ्कवादी” मान्छ।

त्यसैले आफूले गरेको आक्रमण कुर्द लडाकूहरूलाई धपाएर “सुरक्षित क्षेत्र” निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको थियो।

कुर्द लडाकुहरूलाई धपाएर “सुरक्षित क्षेत्र” निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको थियो।

अङ्कराले हाल टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुर्नस्थापित गराउन चाहेको बताएको थियो। तीमध्ये धेरैजसो गैरकुर्द छन्।

कतिपय आलोचकहरूले टर्कीको कदमबाट स्थानीय कुर्द जनसङ्ख्याको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

कुर्द नेताहरूले पनि आफ्नो नरसंहार हुनुभन्दा असदसँग ‘पीडादायी सम्झौता’ गर्नुपरेको बताएका छन्।

गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको भन्दै अमेरिकाको देशभित्रै र अन्तर्राष्ट्रिय रूपमा तीव्र आलोचना भएका थिए।

 


ताजा खबर