महामारीलाई विरोधको अवसरको रुपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र नपुग्ने भएकोले जनतामा जति बढी चेतना बढाउन सकिन्छ त्यति नै कोरोनासँग लड्न सकिने भएकोले त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्न थालेपछि यसको रोकथाम, उपचार र नियन्त्रणका लागि थप कदम चाल्ने सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा जनस्वास्थ्यबिज्ञहरुसँग आयोजित परामर्श बैठकमा प्रधामन्त्री ओलीले महामारी सबैका लागि चुनौती भएकोले त्यसलाई विरोधको अवसरको रुपमा नलिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरको रुपमा लिने प्रवृति बदल्नु पर्छ भन्नुहुँदै कहिले लकडाउन किन गरेको भनेर र कहिले लकडाउन किन खोलेको भनेर विरोध गर्नु उपयुक्त नहुने बताउनु भएको जानकारी उहाँका सञ्चारविज्ञ रामशरण बजगाईले दिनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गर्ने वा नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिने उल्लेख गर्नुहुँदै प्रत्येकलाई सामाजिक दूरी कायम गर्न र मास्क लगाएर हिँड्न कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।


ताजा खबर