उडान खुलाउन यतिको तयारी तिव्र : यात्रुले कोभिड अघिकै मूल्यमा यात्रा गर्न पाउने

सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् ।

लक डाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन् ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न सक्ने बातावरण तय भएको बताउनुभएको छ । सम्पूर्ण सुरक्षाका उपाय आफुहरुले अपनाएकाले ढुक्क भएर यात्रा गर्न उहाँले आग्रह समेत गर्नु भएको छ। उहाँले भन्नुभयो, “मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन।”

कोभिड अगाडिको अवस्था भन्दा अहिले १ घण्टा अगाडि नै यात्रुहरुलाई बोलाइएको छ । सुरक्षा जाँच देखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडि नै यात्रुहरुलाई बोलाइएको हो । यात्रुहरुले कोभिड अगाडि कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उहाँले बताउनुभएको छ ।

यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ समेत खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामि भदौ १ देखिको बुकिङ खुला गरेको उहाँले बताउनुभयो । विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्रतिवन्ध लगाइने गरि यसअघि नै प्राटोकल बनिसकेको छ ।

कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ । यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु निषेध गर्दै सौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानिटाइटर प्रयोग गर्नुपर्ने छ । कुकुर विरालो जस्ता कुनै पनि घर पालुवा जनावर ओसार पोसार गर्न पाइने छैन् । रासस


ताजा खबर