ग्यास्ट्रिकमा प्रयोग हुने ‘र्‍यानिटिडिन’ समूहका औषधिको प्रयोगले क्यान्सरको जोखिम /औषधि ब्यवस्था विभागले उत्पादन र बिक्रीमा लगायो रोक

ग्यास्ट्रिकको उपचारमा प्रयोग गरिँदै आएको र्‍यानिटिडिन समूहको औषधिले सेवनकर्तालाई क्यान्सर गराउन सक्ने जोखिम रहेको सरकारीस्तरबाटै जानकारी गराइएको छ । विभिन्न अनुसन्धानका क्रममा सो औषधिको प्रयोगले क्यन्सर निम्त्याउन सक्ने जोखिम पाइएपछि औषधि व्यवस्था विभागले हालका लागि उक्त औषधि उत्पादन, अयात, विक्री–वितरण र प्रयोग नगर्न निर्देशन दिएको छ ।

अमेरिकामा भएको इम्युनिटी इन्टरनेसनल एजेन्सी अफ रिसर्च अन क्यान्सर (आइएआरसी) ले केही महिनाअघि मात्रै र्यानिटिडिन औषधिमा क्यान्सरको तत्त्व रहेको पत्ता लगाएको थियो । र्‍यानिटिडिनमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन (एनडिएमए) थोरै मात्रामा रहेको र यसले मानिसलाई क्यान्सर गराउन सक्ने देखिएको हो ।

आइएआरसी र्‍यानिटिडिन समूहको औषधिले क्यान्सर गराउन सक्ने तथ्यहरू सार्वजनिक भई त्यसअनुरूप वर्गीकरण गरिएसँगै औषधि व्यवस्था विभागले स्वदेशी उत्पादन र विदेशबाट आयात हुने औषधि तथा कच्चापदार्थमा जोखिमयुक्त तत्त्व यकिन गर्ने व्यवस्था मिलाउन भनेको छ । विभागले पत्राचार गर्दै औषधि उत्पादक र आयातकर्तालाई नेपाली बजारमा उत्पादन तथा प्रयोग हुने सो समूहको औषधिमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन भए–नभएको यकिन गर्न निर्देशन दिएको हो ।

यस औषधिको प्रयोगले क्यान्सर गराउन सक्ने सम्भावना देखिएपछि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि सर्तक रहन अनुरोध गरेको थियो । त्यसपछि बंगलादेश, भारतलगायत देशले यो औषधि प्रयोग नगर्नेका लागि सर्वसाधारणलाई आग्रह गरिसकेका छन् ।

नेपालमा र्‍यानिटिडिन समूहका ७–८ वटा ब्रान्डका औषधि उत्पादन र आयत हुने गरेको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्री बताउँछन् । नेपालका ७ वटा कम्पनी एपेक्स, टौरस, केमिड्रग्स, लोमस, क्युरेक्स, मार्क फर्मुलेसन र युनिक फर्माले यो औषधि उत्पादन गर्दै आएका छन् ।
‘हाललाई यो औषधि उत्पादन, अयात, विक्री–वितरण तथा प्रयोग नगर्नू भनेका छौँ,’ महानिर्देशक क्षेत्रीले भने, ‘जनस्वास्थ्यमा असर गर्ने औषधि उत्पादन तथा विक्री गर्न पाइँदैन ।’

नेपालमा ग्यास्ट्रिकको समस्या आम छ । सबैजसो नेपालीलाई न्यूनाधिक रूपमा ग्यास्ट्रिक हुने गरेको भन्दै यसलाई नेपालीको साझा समस्याका रूपमा समेत लिँदै आइएको छ । यस्तोमा नेपाली बजारमा छ्यासछ्यास्ती उपलब्ध ग्यास्ट्रिकका विभिन्न ब्रान्डका औषधि राम्रै विक्री हुने गरेका छन् । तर, यो औषधि कतिले प्रयोग गरिरहेका छन् र बजारमा अहिले कति मात्रामा स्टक छ भन्ने तथ्यांक भने विभागसँग छैन ।

 


ताजा खबर