हङ्‌कङ आन्दोलन: राष्ट्रपति सी जिन्पिङले नेपालबाटै दिए कडा चेतावनी / चीन विभाजनका हरेक प्रयास बिफल पारिने

चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्। सी आइतबार नेपालबाट स्वदेश फर्किसकेका छन्।

उनले चीन विभाजन गर्ने खोज्ने प्रयास “किचिएका शरीर र भाँचिएका हड्डीहरू” मा टुङ्गिने चेतावनी दिएका हुन्।

आइतवार हङ्‌कङमा शान्तिपूर्ण र्‍यालीहरू निकालिएका भए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपहरू भएका थिए।

चिनियाँ सरकारको पक्षमा भएको भन्ठानिएका सार्वजनिक यातायातका स्टेशन र पसलहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरी क्षति पुर्‍याएका थिए।

हङ्‌कङमा आइतवार प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएका थिए

आइतवार दिउँसोसम्म हङ्‌कङ मेट्रो रेल सेवाका कम्तीमा २७ वटा स्टेशनहरू बन्द गरियो।

प्रहरीले भने प्रदर्शनकारीप्रति ‘निकै कम बल’ प्रयोग गरिएको बताएको छ।

तर टेलिभिजनमा देखिएका दृश्यहरूमा सप्ताहान्तमा उपभोग्य सामान किन्न निस्किएका थुप्रै मानिसहरूले असहज अवस्था खेप्नुपरेको थियो।

एउटा शपिङ सेन्टरमा प्रहरी छिर्दा केही मानिसहरू अत्तालिँदै चिच्याएको देखिएको थियो। केही मानिस घाइते पनि भए।

हङ्‍कङतस्वीर कपीराइटEPA

समाचारसंस्था रोएटर्सका अनुसार एउटा शपिङ् मलबाट नाराबाजी गर्दै समर्थकहरूले दङ्गा प्रहरीलाई बाहिर निकालिदिएका थिए।

अधिकारीहरूका अनुसार त्यहाँको एउटा प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरिएको थियो र एक प्रहरीलाई घाँटीमा चोट लागेको छ।

तर उनको अवस्था अहिले स्थिर रहेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

अर्को एकजना मानिसलाई प्रदर्शनकारीहरूले कुटपिट गरेको बताइएको छ।

उनको झोलामा एउटा डन्डी भेटिएकाले उनी सादा पोसाकमा खटिएका प्रहरी हुन सक्ने ठानिएको छ।

प्रदर्शनकारीहरूसँगै सादा पोसाकमा सुरक्षाकर्मी खटाउँदा हङ्‌कङ प्रशासनलाई रणनीतिक लाभ पुगेको छ। तर त्यसले आन्दोलनकारीहरूमा शङ्का र भय उत्पन्न गराएको छ।

आइतवार राति प्रदर्शनकारीहरूको एउटा समूहले तीन मिटर अग्लो एउटा मूर्तिलाई लाईअन रक भनिने स्थानमा पुर्‍याएको थियो।

लेडी लिबर्टी नामक उक्त मूर्ति हङ्‌कङमा जारी प्रदर्शनको प्रतीक बनेको छ। त्यो मूर्तिमा अङ्कित स्त्रीपात्रलाई मास्क, चस्मा र र हेल्मेट पनि लगाइएको छ।

प्रहरीले प्रहार गरेको एउटा गोली आँखामा लागेकी एक प्रदर्शनकारीको चित्रण उक्त मूर्तिमा भएको बताइन्छ।

आन्दोलनको प्रतीक - लेडी लिबर्टीआन्दोलनको प्रतीक – लेडी लिबर्टी

चट्याङ र हावाहुरीसहित पानी पर्दा पनि दर्जनौँ मानिसहरू उक्त मूर्ति बोकेर ५०० मिटर अग्लो थुम्कोमा चढेका थिए।

उक्त मूर्तिमा “हाम्रो समयको क्रान्ति, स्वतन्त्र हङ्‌कङ” लेखिएको एउटा ब्यानर झुन्ड्याइएको थियो।

केही समयअघि प्रस्तुत एउटा विधेयकमा मुख्यभूमि चीन, ताइवान र मकाऊबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ्‌कङ अदालतले प्रत्येक मुद्दाका आधारमा गरेको निर्णयमा टेकेर सुपर्दगी गर्न सकिने व्यवस्था राखिएको थियो।

ताइवानमा बिदा मनाउन गएका बेला हङ्‌कङका एक व्यक्तिले आफ्नी प्रेमिकाको हत्या गरेको आरोप लागेपछि निजलाई ताइवानसमक्ष बुझाउन नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो।

चीन सरकारले राजनीतिक विपक्षीहरूलाई तारो बनाउन सो विधेयकका आधारमा बन्ने कानुनको दुरुपयोग हुने त्रासका कारण हङ्‌कङमा त्यसको विरोध भएको थियो।

ठूलो विरोध भएपछि सो विधेयक फिर्ता भयो। तर हङ्‌कङमा पूर्ण प्रजातन्त्र र ‘प्रहरी बर्बरता’को अनुसन्धानको मागसहित विरोधप्रदर्शन जारी छ।

जुन महिनायता हङ्‌कङ आन्दोलित छ।

महिनौँदेखि चलेको सरकारविरोधी प्रदर्शन साम्य पार्न प्रमुख कार्यकारी क्यारी लामले उपनिवेशकालीन कानुन प्रयोग गर्दै यो महिनाको सुरुमा मास्क लगाउन प्रतिबन्ध लगाएकी थिइन्। धेरैले त्यसको विरोध गरेका थिए।

हङ्‍कङ

त्यहाँ नागरिक अवज्ञा सुरु भएयता कम्तीमा २३०० मानिस पक्राउ परेका छन्।

त्यस क्रममै त्यहाँ विमानस्थल नै बन्द हुनेगरी ठूला प्रदर्शनहरू भएका थिए।

चीन सरकारले त्यसमा विदेशी हात रहेको भन्दै हस्तक्षेप गर्ने बताउँदै आएको छ।

चीनले प्रदर्शनकारीहरूमाथि आतङ्ककारीजस्तो व्यवहार गरेको आरोप लगाएको छ।

#बीबीसी


ताजा खबर