बम काण्डमा आरोपित काङ्ग्रेस नेता आलम १२ वर्षपछि पक्राउ

करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य आलमलाई आइतवार बिहान पक्राउ गरेको हो।
पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा ‘बूथ कब्जा गर्ने उद्देश्यले’ बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो।
तर उक्त घट्नामा परि घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो।
उक्त अभियोगमा परेको किटानी जाहेरीको आधारमा मुख्य अभियुक्त भनिएका आलम घटना भएको एकवर्ष पछि अर्थात् २०६५ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर समेत भएका थिए।
आलम सहित ५ जना अभियुक्तलाई प्रतिवादी बनाइ दायर गरिएको जाहेरीमा महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी आदेश गरेको थियो।
जिल्ला प्रहरी कार्यालय, रौतहट
तर उक्त आदेशविरूद्ध पीडित परिवारका तर्फबाट शेख रोक्साना खातुन र सरुअठा निवासी श्रीनारायण सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटको सुनुवाइ गर्दै २०६९ साल जेठ १६ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो।
सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि जाहेरवालाले फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिँदा गत चैत ८ गते पुनः पक्राउ गर्न आदेश जारी गरेको थियो।
बम काण्डमा घाइते भएका छोरालाई जिउँदै जलाएको भन्दै किटानी जाहेरी दिने महिला रोक्साना खातुनको पनि गोली हानेर हत्या गरिएको थियो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीका अनुसार पक्राउ परेका सांसद आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ।
यसैबीच बम काण्डको अभियोगमा पक्राउ परेका आलमको रिहाइको माग गर्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

ताजा खबर