विद्युत महसुल दर घट्यो, कति छ नयाँ महसुल दर ?

सरकारले तत्काल लागु हुनेगरी विद्युत महसुल दर घटाएको छ । अब ५ एम्पियर लाइन लिएर न्यूनतम् मासिक १० युनिटसम्म मात्र विद्युत खपत गर्ने ग्राहकले न्यूनतम शुल्कमात्र तिरे पुग्ने भएको छ ।

विद्युत नियमन आयोगले बुधबार सार्वजनिक गरेको नयाँ महसुल दरअनुसार १० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहककालागि विद्युत महसुल नलाग्ने र न्यूनतम ३० रुपैयाँ मात्रै शुल्क तिरे पुग्ने भएको हो । विद्युत प्राधिकरणका अनुसार मुलुकमा मासिक १० यूनिटसम्म विद्युत खपत गर्ने करिब ८ लाख २५ हजार ग्राहकहरु छन् ।

५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा न्यूनतम शुल्क ३० रुपैयाँसँगै प्रतियुनिट ३ रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । घरायसी प्रयोजनका लागि ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विद्युत लाइन लिने ग्राहकका लागि पनि खपतका आधारमा फरक-फरक दर तोकेको छ ।

घरायाशी प्रयोजनका लागि जोडिएको विजुलीको न्यूनतम शुल्क बाहेक प्रतियूनिट न्यूनतम ३ देखि अधिकतम १२ रुपैयासम्म शुल्क तिर्नुपर्ने हुन्छ । नयाँ महसुल दर केही घटेर आएको सार्वजनिक भएपनि विद्युत खपत बढाउन प्रोत्साहन भने नगरेको उपभोक्ताको गुनासो छ ।

यसैबीच व्यापारी तथा उद्योगिहरुले लामो समयदेखि माग गर्दै आएको डेडिकेटेट लाइनपनि सरकारले कटौती गरेको छ । नेपालमा लोडसेडिङ बढ्दै जाँदा व्यापारिक सस्था, सरकारी कार्यालय र उद्योग संचालनका लागि सहज होस भनेर लोडसेडिङ नहुनेगरी डेडिकेटेड लाइन जोडिएको थियो । तर डेडिकेटेट लाइनको डिमाण्ड शुल्क बढी भएको भन्दै उद्योगीहरुले लाइन कटौतीको माग गरेपछि त्यसलाइ कटौति गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले सरदर १० प्रतिशत विद्युत महशुलदर घटाएको जनाएको छ । नेपालमा करिब ३८ प्रतिशत विद्युत घरेलु प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । रासस


ताजा खबर