जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

 नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दैनिक थपिंदै जादाँ सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ ।

संक्रामक रोग ऐन २०२० मा देशभर वा कुनै भागमा संक्रामक रोग उब्जेमा वा फैलने सम्भावना देखिएमा रोग निर्मूल वा रोकथाम गर्न आवश्यक आदेश जारी गर्न सकिने उल्लेख छ ।

यसैगरी कोभिड-१९ महामारीका लागि स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनाले सङ्क्रमितको संख्या दुइ हजार भन्दा बढेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था गरेको छ । सोही अनुसार जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमितको संख्या बढेर उपचारका लागि डाक्टर, अस्पताल, भेन्टिलेटर जस्ता अत्यावश्यक सेवा नपुग्ने अवस्था आउन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि प्रस्ताब लगेको बताइएको छ ।

महामारी फैलिंदै जाँदा सबै प्रकारका साधन स्रोत, शक्ति एकीकृत गरेर संकटलाइ नियन्त्रणमा ल्याउन जुट्नुपर्ने हुन्छ । अहिले कोरोना सङ्क्रमण बढ्दै जादाँ यसको रोकथाम, नियन्त्रण र असरलाई कम गर्नेगरी सबै मिलेर काम गर्ने वातावरण तय गर्नका लागि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिले कुन प्रकारको जनस्वास्थ्य संकट घोषणा गर्ने भन्ने विषयमा स्पष्ट खाका भने तयार भइ सकेको छैन । कोरोना भाइरसका सङ्क्रमितको संख्या बढ्दै गएपछि उनीहरुको लक्षण र स्वास्थ्य अवस्था हेरेर उपचार गर्ने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले पारित गरेपछि मात्रै जनस्वास्थ्य संकटकाल घोषणा हुने बताइएको छ ।


ताजा खबर